नेपाल इन्टरनेसनल च्यालेन्ज : क्षितिज र शोभाको जोडी विजयी

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Nepal International Challenge: The pair of Kshitij and Shobha won

काठमाडौँ — नेपाली खेलाडी क्षितिज खनाल र शोभा गौचनको जोडी नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनको मिक्स डबल्सतर्फ क्वाटरफाइनल पुगेको छ ।

उनीहरूले आफ्नै देशका ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

थाइल्यान्डले खेलबाट आफ्नो नाम फिर्ता लिएपछि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । क्षितिज र शोभाको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८–२१, २४–२२, २४–२२ को कठिन सेटमा हराएको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा मिक्स डबल्सका अन्य खेलमा देव राना र शेस्ना सिर्पालीको जोडी थाइल्यान्डका नोन्ताकोर्न थोङ–अन र कोडचापोर्न चाइछानाको जोडीसँग २१–९, २१–१४ ले, भोजबहादुर गुरुङ र अञ्जना राईको जोडी अमेरिकी प्याट्रिक ची र नाताली चीको जोडीसँग २१–११, २१–८ ले, अमन महर्जन र नीता लम्सालको जोडी भारतका मोहित र लक्षिता जगलानको जोडीसँ २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडीसँग २१–८, २१–६ ले पराजित भएको थियो ।

मेन्स डबल्समा प्रिन्स र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडी पराजित भएको छ । क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकर र ध्रुव थाकरको जोडीसँग २१–७, २१–१० ले, भोजबहादुर गुरुङ र प्रफुल महर्जनको जोडी भारतकै विप्लभ कुभाले र विराज कुभालेको जोडीसँग २१–१३, २१–१६ ले र सुनिल जोशी र अमन महर्जनको जोडी थाइल्यान्डका नारुत सेङखाम र अपिचासित थिराविवतसँग २१–८, २१–१० ले पराजित भएको थियो ।

वुमन्स डबल्सतर्फ नेपालकी नम्बर एक रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्गोदागे र हसरा विजयरत्नेको जोडीसँग २१–११, २१–१७ ले तथा शोभा गौचन र शेष्ना सिर्पालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसँग २१–१८, २१–१४ ले पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully