काठमाडौँ — रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले सम्मान गरे ।
एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा ६ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पााच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशल नै एरिकाको प्रशिक्षक थिए ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीविकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गरे । वार्षिक खेलकुदमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।
