सेभियालाई हराएर रियल दोस्रोमा

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Real second after defeating Sevilla

काठमाडौँ — केयलिन एमबापे र फेडरिको भाल्भेरडेले लामो दूरीबाट दुई उत्कृष्ट गोल गरेपछि रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई ४–२ ले हराएको छ । जितपछि रियल अंक तालिकाको शीर्षमा रहेका छिमेकी एट्लेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्न पनि सफल रह्यो ।

कार्लो एन्सेलोटीको रियलका लागि रोड्रिगो र ब्राहिम डियाजले पनि गोल गरे । सेभियाका तर्फबाट इसाक रोमेरो र डोडी लुकेबाकिओले एक एक गोल फर्काए । यो नतिजापछि रियल १८ खेलबाट ४० अंकमा दोस्रो स्थानमा उक्लेको छ ।

एटलेटिको भने समान खेलबाट ४१ अंकमा शीर्षमा छ । बार्सिलोना भने १९ खेलबाट ३८ अंकमा तेस्रो स्थानमा झरेको छ । यससँगै यसपल्टको ला लिगाको उपाधि होड त्रिकोणात्मक हुने निश्चित भएको छ ।

आइतबारकै अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ५–२ र लास पाल्मेसले इस्पनयोललाई १–० ले हरायो । भिल्लारियल भने १८ खेलबाट ३० अंकमा पाँचौं स्थानमा रहेको छ ।

कान्तिपुर

Link copied successfully