शीर्षमा लिभरपुलको अग्रता चार अंक

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Liverpool lead by four points at the top

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चार अंकको अग्रता लिएको छ र यसका लागि टोटनहमलाई उसकै घरमा ६–३ ले पराजित गरेको छ । आर्ने स्लटको लिभरपुल चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको टोटनहमविरुद्ध आक्रामक रह्यो ।

यस प्रभावशाली जितमा लुइस डियाजले २३ औं मिनेटमा गोलको खाता खोले । उनले दुई गोल गरे । यस्तै मोहमद सलाहले पनि दुई गोल गरे । अन्य गोल एलेक्स म्याकएलिस्टर र डोमिनिक सबोसलाईको नाममा रह्यो ।

घरेलु टिमका लागि जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । यो जितपछि लिभरपुलको १६ खेलबाट ३९ अंक भएको छ । दोस्रोमा रहेको चेल्सीले एक खेल बढी खेलेको छ र ३५ अंक छ ।

खेलपछि प्रशिक्षक स्लटले भने, ‘यो निकै सुखद नतिजा रह्यो । सम्भवतः घर बाहिर यो सिजनकै उत्कृष्ट प्रदर्शन हो । हामीले यस्तो प्रदर्शनलाई कायम राख्न सक्नु पर्छ र कुनै पनि बेला आराम महसुस गर्नु हुने छैन् ।’

आइतबारका अन्य खेलमा बर्नमाउथले म्यानचेस्टर युनाइटेड तथा उल्भ्सले लेस्टर सिटीलाई समान ३–० ले हरायो । एभरटन र चेल्सी तथा फुलहम र साउथह्याम्पटनले पनि समान गोलरहित बराबरी खेले ।

कान्तिपुर

Link copied successfully