पाँचथर — मछिन्द्र फुटबल क्लब काठमाडौं ११ औं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । मछिन्द्रले फिदिममा भइरहेको प्रतियोगितामा आइतबार झापा ११ लाई ५–० गोलले पराजित गर्यो । मछिन्द्रको जितमा बिजु भुजेलले २ गोल गरे ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा मछिन्द्रका देवेन्द्र तामाङले ११ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको खाता खोले भने दोस्रो गोल ३० औं मिनेटमा उत्सव राईले गरे । तेस्रो गोल मध्यान्तरअघिको अतिरिक्त समयमा बिजुले, ७९ औं मिनेटमा सौरभ लिम्बूले र ९० औं मिनेटमा बिजुले गोल गरे । सोमबारदेखि क्वाटरफाइनल चरणका खेल सुरु हुनेछन् । पहिलो क्वाटरफाइनल त्रिभुवन आर्मी क्लब काठमाडौं र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । फिदिम माविको खेल मैदानमा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पुस ६ गतेदेखि सुरु भएको हो ।
प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित १० टिमले भाग लिएका छन् । जसमध्ये करसाङ फुटबल क्लब भारत र झापा ११ पहिलो चरणबाटै बाहिरिएका छन् । प्रतियोगिता पुस १५ गते सम्पन्न हुनेछ । यो संस्करणका विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाल्गुनन्द गोल्डकपको प्रवर्द्धन फिदिम नगरपालिकाले गरेको हो ।
