अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन सोमबारदेखि

पुस ८, २०८१

कान्तिपुर संवाददाता

International Challenge Badminton from Monday

काठमाडौँ — नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारबाट सुरु हुँदै छ ।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा योनेक्स सनराइज नेपाल च्यालेन्जमा विश्वका ५ महादेशका नेपालसहित २२ देशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, यूएई, जाम्बिया, युगान्डा, इंग्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन, जापानका १७४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने छ ।

१५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वाटरफाइनलिस्टका खेलाडीहरूले क्रमशः १२ सय डलर, ७ सय २० डलर, ६ सय डलर र ४ सय ८० डलर प्राप्त गर्नेछन् । च्यालेन्जलगत्तै १२ देखि १४ पुससम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । जसमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, यूएईका खेलाडीहरूको सहभागिता रहनेछ ।

सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । जसमा कुल १ सय ७ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्जतर्फ ९ पुरुष र ७ महिला तथा जुनियरतर्फ ८ पुरुष र ८ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

योनेक्स सनराइज कम्पनी, सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्ज र सिरिजको लागत करिब १ करोड १६ लाख रहेको छ । योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी नेपाली खेलाडीलाई खेल पोसाक र ४ सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउनेछ । बाँकी रकम राष्ट्रिय खेलकुद परिषद्, वाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा विभिन्न बैंक तथा कम्पनीहरू र सहयोगी संघसंस्थाबाट पूर्ति गरिने ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully