एनआरटीलाई हराउँदै चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Church Boys beat NRT to win the Jhapa Cup title

काठमाडौँ — चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । चर्च ब्वाइजले न्यूरोड टिम (एनआरटी) लाई सोमबार फाइनलमा ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।  उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ जित्यो । 

उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग बेहोरेको हारको बदला पनि लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसनमा राखेको थियो । तर खेलको २१औं मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । गोलरक्षकको हातबाट फुत्किएको बललाई मैदानको मध्यभागबाट उनले 'वानटच'मा जाली चुमाएका हुन् ।

४३औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे । लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए ।

खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे । खेलको प्लेयर अफ द म्याच  टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रूपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।

यसैबीच, झापा-११ एफसीका व्यवस्थापक गोपाल राईले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन् ।  विजेता तथा उपविजेतालाइ संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टि इस्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकाराज ढकालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

कान्तिपुर

Link copied successfully