झापा — झापा ११ को आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको झापा कप फुटबल प्रतियोगिताको उपाधिलाई सोमबार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) भिड्दै छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौं स्थानको एनआरटीबीचको यो भेट इलाम गोल्डकपपछिको दोस्रो हो । इलाम गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजलाई ३–० ले हराएको थियो । त्यो जित दोहोर्याउने दाउमा एनआरटी देखिन्छ ।
चर्च ब्वाइज भने इलामको हारको बदला लिने योजनामा छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘इलाममा बेहोरेको हारको बदला लिन्छौं ।’
एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो टिम सन्तुलित र बलियो रहेको बताउँदै जित निश्चित रहेको जनाए । उनले भने, ‘चर्च ब्वाइजलाई इलाममा हराएकाले हाम्रो आत्मविश्वास थप बलियो बनेको छ ।’
पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो । चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा पुगेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
गत वर्ष फागुनमा सम्पन्न छैटौं झापा गोल्डकपमा चर्च ब्वाइजले बाईमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो । सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो । लिगको छैटौं चरणमा चर्च ब्वाइज र एनआरटीबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । पछि चर्च ब्वाइजले एनआरटीलाई ४–१ गोल अन्तरले हराएको थियो । चर्च ब्वाइजमा लिगताकाका खेलाडी अनन्त तामाङ मात्र रहेका छन् भने त्यो बेलाका गोलकर्ता अञ्जन विष्ट हाल एनआरटीमा आबद्ध छन् ।
चर्च ब्वाइज ‘बी’ डिभिजन जितेर ‘ए’ डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ ।
झापा कपका विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् ।
नेपाल र भारतका १० टिम सहभागी यस प्रतियोगितामा उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले जनही ३५ हजार नगद पुरस्कार पाउनेछन् ।
