अर्घाखाँची — अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको सन्धिखर्क नगर उपप्रमुख कप नगरस्तरीय महिला भलिबलको उपाधि चुत्राबेंसीको जनज्योति माविले हात पारेको छ ।
नगरपालिकाभित्रका ११ माध्यमिक विद्यालयको सहभागितामा आइतबार सम्पन्न प्रतियोगितामा अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति माविको छात्रा टिमले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा सदरमुकामको अर्घाखाँची आवासीय मावि द्वितीय, गौरीशंकर इंलिस स्कुल तृतीय र भगवती मावि शंखेटारी सान्त्वना भएको छ ।
भलिबल खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार २० हजार, १५ हजार, आठ हजार र पाँच हजार पाएको सञ्जालकी नेता शान्ता भण्डारीले बताइन् ।
सन्धिखर्क टुँडिखेलमा दुई दिनसम्म भलिबल प्रतियोगिता सञ्चालन भएको थियो ।
