काभ्रे — उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप र्यापिड बुद्धिचाल प्रतियोगितामा श्रीकृष्ण मानन्धर विजेता बनेका छन् ।
काभ्रेका १८०० रेटिङमुनि प्रथम जिल्लास्तरीय ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै श्रीकृष्ण विजेता बनेका हुन् ।
नालास्थित उग्रचण्डी स्कुलमा भएको प्रतिस्पर्धामा ५ अंक जोडेर दोस्रोदेखि सातौं स्थान प्राप्त गर्नेमा खेलाडीमा श्याम मानन्धर, प्रेम खड्का, सन्तलाल श्रेष्ठ, देवकृष्ण श्रेष्ठ, अञ्जन श्रेष्ठ र धर्कसिं तामाङ रहेका छन् ।
काभ्रेका ७८ खेलाडीले प्रतिस्पर्धा गरेकामा विधागततर्फ यू–१२ मा आदित्य बमजन र सगर्व न्यौपाने, यू–१४ मा विनेश श्रेष्ठ र सिदेन प्रजापति तथा यू–१६ मा आर्यन वादे र प्रजिल मानन्धरले क्रमशः पहिलो र दोस्रो पुरस्कार पाए ।
छात्रातर्फ कृपा पौडेल पहिलो र आरती थापा दोस्रो भए । राइजिङ स्टारमा आर्यस गिरीले पुरस्कार पाए ।
काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष रघुवर चौ प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विजेतालाई बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले पुरस्कृत गरे ।
