उमेर समूहको महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको नेपाललाई भुटानले फराकिलो अन्तरले हरायो।
काठमाडौँ — यो हार यस्तो रह्यो, जसले नेपाली फुटबललाई रूवाउने छ । यो यस्तो नतिजा रह्यो, जसले नेपाली फुटबललाई नराम्रोसँग झस्काउने छ । दशरथ रंगशालामा शुक्रबार नेपाल र भुटान भिडेका थिए । यो महिला यू–१६ को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल थियो ।
महिलाको उमेर समूहमा नेपालले खेलेको यो नै पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हो । त्यसैले यो एक अर्थमा ऐतिहासिक पनि रह्यो । तर, यसले स्पष्ट के पनि देखाएको छ भने नेपाली फुटबल साँच्चै कता जाँदै छ ।
भुटानले नेपाललाई हराउन मात्र हराएन, नराम्रोसँगै हरायो । स्कोर भुटानको पक्षमा रह्यो ५–१ । केही वर्षअगाडिसम्म कसैले यस्तो स्कोरबारे चर्चा गर्थ्यो भने त्यो ख्यालठट्टा मात्रै हुन सक्थ्यो । तर अब नेपालले महिलाको उमेर समूहको फुटबलमा पहिलो पटक ९० मिनेटभित्र भुटानसँग पहिलो हार बेहोरेको छ ।
नेपाली खेलाडी स्वयं भने यो नतिजामा स्तब्ध रहे । खेल सकिनेत्तित्तिकै लगभग सबै खेलाडी मैदानमै रुन थालेका थिए । प्रशिक्षक सुलभजंग राणालाई खेलाडी सम्हाल्नै गाह्रो भएको थियो ।
उनलाई भन्नुपरेको थियो, ‘रुने हो भने अबदेखि फुटबल पनि नखेल्नु ।’ पछि मिडियासामु प्रस्तुत हुनेक्रममा उनले नेपाली फुटबल समर्थकसँग सबैभन्दा पहिले माफी मागे । उनले यथार्थ स्वीकारे, भुटानी महिला फुटबल धेरै राम्रो भएको छ ।
यस्तो नतिजा किन आयो त ? उत्तर भने प्रस्ट छ । भुटानी टिमले यही एक खेलका लागि भनेर दुई महिना अगाडिदेखि लगातार अभ्यास गरिरहेको थियो । भुटानी खेलाडी सबै एकेडेमीका थिए । नेपाली टिमको तयारी १० दिनको पनि थिएन ।
‘हामीले तयारी नै गर्न पाएनौं, १० दिनमा हुने नै के हो र ?,’ प्रशिक्षक राणाले भने, ‘प्रशिक्षकमा सुरुमा ध्यान दिन भनेको फिटनेसमै मात्र हो । यसकै लागि भनेर पनि समय पुगेन । त्यसैले खेलाडी घाइते भइरहे ।’ सम्भवतः यही कारणले नेपाली टिमको प्रदर्शन निकै कमजोर रह्यो, खेलाडीहरू प्राविधिक रूपमा निकै तल्लोस्तरका देखिए । नेपाल पहिलो हाफमै तीन गोलले पछाडि रहेको थियो । यसले पनि देखाउँछ, भुटानी टिम खेलमा कति हाबी रह्यो ।
भुटानले २५ औं मिनेटमा कुन्डेन सोनामको गोलमा अग्रता लिएको थियो । लगत्तै ३६ औं मिनेटमा छिरिङ ल्हामोले दोस्रो गोल थपिन् । छिरिङले नै ४० औं मिनेटमा तेस्रो गोल गरिन् र भुटान ३–० ले अगाडि बढ्यो । खेलले ६६ औं मिनेट छुँदा कुन्डेनले चौथो गोल गरिन् । युगेन सोमोले ८४ औं मिनेटमा पाँचौं गोल गरिन् । तर, यो पेनाल्टीबाट सम्भव भएको थियो । खेल सकिन चार मिनेटअघि सबिना तामाङले नेपालका लागि गरेको गोल सान्त्वनामात्र बन्यो ।
खेलपछि भने भुटानी प्रशिक्षक सरब ग्याल्मो स्वाभाविक रूपमा खुसी रहे । उनले भनिन्, ‘प्रशिक्षकका रूपमा यो मेरो पहिलो अनुभव हो र यसमै भुटान प्रभावशाली रूपमा विजयी रह्यो । त्यसैले हामी सबै खुसी छौं । हामीले यही एक खेलका लागि भनेर दुई महिनादेखि नियमित तयारी गरिरहेका थियौं ।’
यसैक्रममा उनले दाबी पनि गरिन्, भुटानी महिला फुटबल सही दिशातर्फ अग्रसर छ । अबको दिनमा भुटानी महिला फुटबल अझ राम्रो हुनेछ । अब आइतबार नेपालको यू–१९ महिला टोलीले भुटानको यू–१९ टोलीसँग खेल्नेछ ।
