काठमाडौँ — हङकङ-१९ विरुद्धको तीन एकदिवसीय शृंखला नेपालले ३-० ले जितेको छ । शुक्रबार मूलपानी क्रिकेट रंगशालामा नेपालले हङकङमाथि १३० रनले जितेको हो ।
नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले ४९ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनाएको हो ।
हङकङका लागि प्रीत मंगुकियाले सर्वाधिक ५५ रन बनाए । कप्तान शिव माथुरले १९ रन बनाउँदा अब्दुल समादले २३ रन बनाए । नेपालका लागि अभिशेख तिवारी र अफ्रुदिन राइनले २/२ विकेट लिए । त्यस्तै राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा १० विकेट गुमाउँदै २६५ रन बनाएको थियो । नेपालका लागि सुर्यांशु कोइरालाले सर्वाधि ६० रन बनाए । त्यस्तै कप्तान अभिशेख तिवारीले ५६ रन बनाउँदा सन्तोष यादवले नटआउट ५३ रन बनाए । त्यस्तै नरेन भट्टले ३६ रन बनाए । हङकङका लागि ड्यानियल म्याप, पार्थ श्रीवास्तव, शायन पुरी र प्रीत मंगुकियाले २/२ विकेट लिए ।
यसअघि नेपालले दोस्रो खेल २२६ रन र पहिलो खेलमा हङकङमाथि ३ विकेटको जित हात पारेको थियो ।
