कर्णाली याक्सले दिएको कम स्कोरको लक्ष्यमै धर्मराएको इनिङ्स जिम्मी निसमले सम्हाल्दै जनकपुरलाई विजयतर्फ डोर्याए ।
काठमाडौँ — नेपाल प्रिमियर लिगले अन्ततः सुखद अन्त्य पाउन भएको छ । किनभने पहिलो संस्करणको उपाधि त्यही टिमले जित्ने छ, जसको उपलब्धिमा कुनै गुनासो हुने छैन । लिग चरणको समाप्तिमा जुन दुई टिम शीर्षमा रहे, तिनैले फाइनल खेल्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको क्वालिफायर–२ को खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्यो । जनकपुर लिगको अन्त्यमा दोस्रो स्थानमा थियो ।
अब शनिबार हुने फाइनलमा जनकपुरको भेट हुनेछ, सुदूरपश्चिम रोयल्ससँग । सुदूरपश्चिम त्यही टिम हो, जसले लिग तालिकाको शीर्षस्थान कब्जा गरेको थियो । यो फाइनल हुनेछ नम्बर १ र २ टिमबीचको । लिग चरणसँगै क्वालिफायर–१ मा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो ।
यस्तोमा सुदूरपश्चिमसामु आफ्नो नजिकको प्रतिद्वन्द्वीमाथि जितको ह्याट्रिक रच्ने अवसर हुनेछ । त्यहीं जनकपुरसामु ती दुई हारको मीठो बदला लिने अवसर छ ।
क्वालिफायर–२ पनि लगभग त्यही रह्यो, जुन पूरा प्रतियोगिताको रह्यो । कीर्तिपुर मैदानको पिच ब्याटिङका लागि गाह्रो थियो, बल मज्जाले ब्याटमा आइरहेको थिएन । त्यसैले खेल कम स्कोरकै रह्यो ।
पहिलो ब्याटिङ गरेको कर्णालीले सम्भवतः २० जति रन बढी बढाएको भए खेलको पूरा कथा बेग्लै हुन्थ्यो । तर, इलिमिनेटरमा चितवन राइनोजलाई हराएर यहाँसम्म पुगेको कर्णालीलाई पनि आफ्नो प्रदर्शनमा सम्भवतः अपसोच पटक्कै रहने छैन । बरू गर्व रहनेछ ।
नायक निसम
यो खेलका नायक रहे, न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम । दुई टिमबीचमा कुनै अन्तर थियो भने त्यो यिनै अनुभवी खेलाडी रहे । पिचले ब्याटरलाई मदत गरिरहेको थिएन, यस्तोमा शक्तिशाली प्रहार गर्न माहिर निसमको प्रदर्शन निर्णायक साबित भयो ।
उनले १७ बलमा ४० रन बनाए । यसअघि उनले ३० बलमा दुई विकेट पनि लिएका थिए । यस्तोमा उनी नै निर्विवाद प्लेयर अफ द म्याच रहे । जनकपुरले जितका लागि १ सय १९ रनको लक्ष्य पाएको थियो । त्यसलाई टोलीले १९ ओभरमा पूरा गरेको थियो ।
जनकपुरले ८ विकेट गुमाएर ठ्याक्कै १ सय १९ रन नै बनायो । यो स्कोरमा ४० रनको महत्त्व के हुन्छ, त्यो प्रस्ट देखिन्छ नै । ‘यो खेलको मज्जा नै अर्को रह्यो । मैले आफ्नो टिमको जितमा चाहिँदो योगदान गर्न सकें, त्यसैले खुसी पनि छु, रोमाञ्च महसुस गरिरहेको छु । पिच पक्कै पनि ब्याटरका लागि सहयोगी थिएन । त्यसैले पनि मेरो प्रदर्शन राम्रो रह्यो भन्न सकिन्छ,’ निसमले सुनाए ।
जनकपुरको सुरुआत राम्रो रहेन । १६ रन बनाउँदासम्म टोलीले तीन विकेट गुमाइसकेको थियो । ओपनर जोडी शुभ कंसाकार र कप्तान आसिफ शेख सस्तोमै आउट भए । शुभले ३ रन बनाए भने आसिफले ४ रनमात्रै । लगत्तै लाहिरू मिलान्था पनि २ रनमै समेटिए । त्यसपछि आकाश त्रिपाठी र हर्ष ठाकरले २५ रनको महत्त्वपूर्ण साझेदारी गरे । हर्षले रनआउट हुनुअगाडि १७ रन बनाए भने आकाशको ब्याटबाट १३ रन निस्केको थियो ।
यहींबाट सुरु हुन्छ, निसमको निर्णायक ब्याटिङ । उनले १७ बलमात्र सामना गरे । त्यसमा २ चौका र ५ निर्मम छक्का सामेल थियो । बाउन्ड्रीमा उनको एउटा क्याच लगभग छुटेको मान्न सकिन्छ । सम्भवतः यो नै खेलको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । उनलाई १४ रन बनाएका मायन यादवले बलियो साथ दिए । अन्त्यतिर शेर मल्लले बहादुरीले भरिएको १६ रनको इनिङ्स खेले । मात्र १० बल सामना गरे । उनकै ब्याट विजयी रन निस्केको थियो ।
कर्णालीका लागि किशोर खेलाडी विपिन शर्मा फेरि एकपल्ट उत्कृष्ट साबित भए । उनले १७ रनमा ३ विकेट लिए । त्यसमध्ये उनको एउटा सिकार रहे स्वयं निसम । उनको बलिङमा निसम मज्जाले बोल्ड भएका थिए । ‘सायद हामी केही रन कम बनायौं,’ विपिनले पछि भने ।
मिडियासामु प्रस्तुत हुने क्रममा उनले त्यो मनको कुरा खोले । जसले बताउँछ, यी खेलाडी लामो रेसका घोडा हुन् । उनको भनाइ थियो, ‘मलाई धेरै उचालेर लेख्नुपर्दैन । मलाई अझ लामो यात्रा तय गर्नु छ ।’
ठोस इनिङ्सको अभाव
टस हारेर पहिले ब्याटिङमा ओर्लेको कर्णालीको सबैभन्दा खराब पक्ष रह्यो । कोही एक ब्याटरले टिकेर केही लामो ठोस इनिङ्स खेल्न सकेनन् । गुलसन झाले २० ओभरमा २५ रन बनाए । यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । उनलाई छाडेर सुरुमै ओपनर देव खनालले २० बलमा २४ रन बनाए । होइन भने अन्त्यतिर युनिश ठकुरीले १७ बलमा १२ रन बनाए ।
बीचमा तीन विदेशी खेलाडीले केही रन त जोडे । तर, चाँडै पेभेलियन फर्कने बाटो रोजे । त्यसमा जिसन मक्सुदले १२, विलिमय बोसिस्टोले १४ र चाडविक वाल्टनले ११ रन बनाए । ओपनरको भूमिकामा आएका भारतीय खेलाडी जयकिसन कोल्सावाला ४ बलमात्रै टिके ।
अघिल्लो दिन आकर्षक इनिङ्स खेलेका उनले एकै रन मात्र बनाउन सके । धेरै हदसम्म जनकपुरका बलर पनि कर्णालीको तुलनामा सटिक साबित भए । निसमले मात्र २ विकेट लिएनन्, २–२ विकेट लिनेमा ललित राजवंशी र मोहम्मद मोहसिन पनि रहे । जनकपुरका सबै बलरले किफायती बलिङ गरेका थिए ।
