काठमाडौँ — नेपाल ब्याडमिन्टन संघले दोस्रो पटक नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा पुस ८ देखि ११ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ मा नेपालसहित २२ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, यूएई, जाम्बिया, युगान्डा, इंग्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापान खेलाडी आउने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
च्यालेन्जमा पुरुष/पुरुष सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा १ सय ७४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
१५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा सबै विधाका विजेताले १२ सय डलर, उपविजेताले ७२० डलर, सेमिफाइनलिस्टले ६ सय डलर र क्वाटरफाइनल पुगेका खेलाडीले ४८० डलर प्राप्त गर्नेछन् ।
च्यालेन्जलगत्तै १२ देखि १४ सम्म नेपाल जुनियर अन्तराष्ट्रिय सिरिज २०२४ आयोजना हुनेछ । त्यसमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, यूएईका खेलाडीले ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा १ सय ७ खेलाडीका सहभागिता हुनेछ ।
नेपालबाट सिनियरतर्फ ९ पुरुष र ७ महिला तथा जुनियरतर्फ ८ पुरुष र ८ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
