सुदूरको सानदार फाइनल यात्रा

विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्ससँग जनकपुर बोल्ट्स ८ विकेटले पराजित, कर्णाली याक्ससँग इलिमिनेटरमा पराजित भएपछि चितवन राइनोज चौथो स्थानमा सीमित

पुस ४, २०८१

कान्तिपुर संवाददाता

A grand finale journey from far away

काठमाडौँ — सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को राउन्ड रोबिन लिगमा जुन प्रदर्शन देखाउँदै आएको थियो, त्यसलाई क्वालिफायर १ सम्म पनि कायमै राख्यो । लिग चारणका ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिम बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्यस्तै दमदार प्रदर्शन गरेर फाइनल पुगेको हो ।

विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्न खासै संघर्ष गर्नुपरेन । भेट्रान ओपनिङ ब्याटर विनोदले अविजित ५८ रन बनाएपछि सुदूरपश्चिमले १ मा १ सय ४० रनको लक्ष्य १८.३ ओभरमा १ सय ४२ रन बनाएर पूरा गरेको थियो ।

जनकपुर त्यही टोली हो, जसलाई राउन्ड रोबिन लिगमा सुदूरपश्चिमले ५१ रनमा अलआउट गरेको थियो, जुन एनपीएलकै सबैभन्दा न्युन स्कोरमा रहिरहेको छ । सुदूरपश्चिमले उक्त खेल ७२ रनले जितेको थियो । विनोदले ५५ बल खेल्दै ३ चौका र ३ छक्कासहित अविजित ५८ रन बनाएपछि सुदूरपश्चिमले त्यो लय कायमै राख्यो । 

सुदूरपश्चिमले कर्णाली याक्स र जनकपुरबीच बिहीबार हुने क्वालिफायर २ को विजेतासँग फाइनल खेल्नेछ । फाइनल शनिबार हुनेछ । सबैभन्दा ठूलो भनेको सुदूरपश्चिमले अब दुई दिन पूर्णविश्राम पाउनेछ भने कर्णाली र जनकपुर लगातार दोस्रो दिन खेलेर एक दिनको विश्रामपछि फाइनलको दाबेदारिता होमिने छन् । 

सैफ जैबसँग पहिलो विकेटका लागि ८ ओभरभित्र ५६ रनको साझेदारी गरेका प्लेयर अफ द म्याच विनोदले ब्रान्डन म्याकमुलेनसँग दोस्रो विकेटमा ५९ रनको साझेदारी गरे । ‘हाम्रो राम्रो सुरुआत हुँदै आएको छ, तर फिनिसिङ हुन सकेको छैन भनेर प्रशिक्षकसँग कुरा भएको थियो,’ विनोदले भने, ‘आज अन्तिमसम्म बसेर म्याच जिताएर आउनुपर्छ भन्ने दिमागमा थियो । सुदूरपश्चिमले सबै खेल राम्रो खेल्दै आएको छ, त्यसैले फाइनल पुग्न हामी योग्य थियौं जस्तो लाग्छ ।’

सुदूरपश्चिम पहिलो पावरप्लेमा ४८ रन जोडेर सानदार सुरुआत गरी जिततर्फ लम्किएको थियो । ‘पहिला खेलदेखि नै पावर प्ले डोमिनेट गरेर खेल्नुपर्छ भन्ने थियो । दबिएर खेल्न जरुरी थिएन,’ विनोदले टिमको रणनीतिबारे भने । जैबले २१ बल खेल्दा ३ चौका र २ छक्कासहित ३२ तथा म्याकमुलेनले १९ बल खेल्दा समान १ चौका र छक्कासहित २३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे । किशोर महतो र ललित राजवंशीले जनकपुरबाट १–१ विकेट लिए ।

यसअघि जिम्मी निसमले २३ बलमा ४५ रन बनाए पनि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो । निसमले फेरि एक आक्रामक इनिङ्स खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर लाहिरू मिलान्था १४ बलमा १२ रन बनाई दीपेन्द्रको बलमा एलबीडब्लू आउट भए । नियमित कप्तान अनिल साह घाइते रहेकाले जनकपुरको नेतृत्व मार्की खेलाडी आसिफ शेख गरेका थिए । उनले १० बलमा २ चौकासहित ११ रनमात्र बनाए । 

शुभ कंसाकारले २४ बलमा ४ चौकासहित २६ रन बनाए । हर्ष ठाकर १२, अरनिको यादव ११, मोहम्मद मोहसिन र शेर मल्ल समान ३ तथा किशोर महतो २ रनमा आउट भए ।

आकाश त्रिपाठी ४ रनमा अविजित रहे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक ३ विकेट लिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडीका लागि बलियो दाबेदारिता प्रस्तुत गरिरहेका उनले ४ ओभरमा २९ रनमात्र खर्चेका थिए । जैबले ३ ओभरमा २० रन खर्चेर २ तथा स्कट कुग्लेन र अविनाश बोहराले १–१ विकेट लिए ।

कोल्सावालाको आगमनले कर्णालीको आस

पहिलो चरणमा सुदूरपश्चिमलाई पराजित गर्नेमा चितवन राइनोजमात्र थियो । चितवनको यात्रा पनि बुधबारको पहिलो खेलमा कर्णाली याक्सले अन्त्य गरिदिएको छ । चितवनलाई इलिमिनेटरमा २१ रनले पराजित गरी कर्णाली क्वालिफायर २ मा पुगेको हो ।

नेपाली क्रिकेटसँग निकै परिचित जयकिशन कोल्सावालाले प्रतियोगितामा पहिलो खेल खेल्दै अर्धशतक बनाएपछि कर्णालीको ब्याटिङ निकै संगठित देखिएको थियो । उनीसँगै अर्का दुई विदेशी खेलाडी विलियम बोसिस्टो र चाडविक वाल्टनको उच्च प्रयासमा टस हारेर ब्याटिङ निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाई १ सय ७५ रन बनायो ।

कोल्सावालाले ३९ बलमा ५३, बोसिस्टोले ३९ बलमा ५२ र वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए । ओपनिङ ब्याटर कोल्सावालाले ६ चौका र २ छक्का तथा उच्च फर्ममा रहेका बोसिस्टोले ३ चौका र २ छक्का प्रहार गरे । प्लेयर अफ द म्याच वाल्टनले ४ चौका र ३ छक्का प्रहार गरे ।

प्रतियोगितामा दोस्रो पटक मौका पाएका रित गौतम पुनः शून्यमा आउट भए । गुलशन झाले खाता खोल्न सकेनन् । जेसन मक्सुद १२ बलमा १४ र देव खनाल ३ रन बनाई आउट भए । चितवनबाट सोहेल तनवीरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । शरद भेषावकर, रवि बोपारा र कप्तान कुशल मल्लको नाममा १–१ विकेट रह्यो ।

लिगमा पनि कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो । रबि बोपाराले अर्धशतक बनाए पनि चितवनले यसपालि पनि नतिजा उल्टाउन सकेन । टोलीले ९ विकेट गुमाई १ सय ५४ रनमात्र बनाउन सक्यो । बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्कासहित ५३ रन बनाए । उनी प्रतियोगितामा उच्च रन बनाउने खेलाडीमा अघि छन् । उनले २ सय ८६ रन बनाउँदै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको २ सय ७९ रनलाई उछिनेका थिए ।

ओपनर हसन इसाखिल १ रनमै आउट भए । अर्का ओपनर विपिन रावलले १० बलमा ४ चौकासहित १६ रन बनाए । लुक बेन्केन्स्टेइनले १३ बलमा समान १ चौका र छक्कासहित १६, कप्तान कुशल मल्लले २४ बलमा १ छक्कासहित २१ रन बनाए ।

सन्तोष कार्की ८, सोहेल तनवीर ४, अमरसिंह राउटेला ९ रनमा आउट भए । शरद १० बलमा १० र रिजन ढकाल ४ बलमा ७ रनमा अविजित रहे । कर्णालीबाट मक्सुदले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रनमात्र खर्चेका थिए । नन्दन यादव र सोमपाल कामीले २–२ तथा विपिन शर्माले १ विकेट लिए । विपिनले ४ ओभरमा २७ रन खर्चिए ।

कान्तिपुर

Link copied successfully