क्वालिफायरमा हारे पनि फेरि फाइनल पुग्ने मौका, कर्णाली र चितवनबीच हुने इलिमिनेटर विजेतासँग खेल्न पाउने
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) बाट चार टिम छुटिसकेका छन् । अब बुधबार दुई खेलपछि थप एक टिमको प्रतियोगिताबाट चुनौती सकिनेछ । बाँकी तीन टिममध्ये एकले ढुक्क भएर भन्न सक्नेछ, फाइनल पुग्यौं । अझ एकले धन्न आफू त जोगियो, अझै फाइनलको सम्भावना छ भन्ने छ ।
अनि एउटा अर्को टिमले आफ्नो एउटा नजर फाइनलतर्फ तेर्स्याउन सक्नेछ । यही त हो, इलिमिनेटर र क्वालिफायरको मज्जा । फ्रेन्चाइज क्रिकेटमा जसले यो इलिमिनेटर र क्वालिफायरको नियम बनाएको थियो, त्यसलाई धन्यवाद दिनैपर्छ । आखिरमा लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले थप एउटा मौका त पाउनुपर्ने नै हो ।
तेस्रो र चौथो स्थानमा रहेको टिमभन्दा शीर्ष दुईलाई केही थप सुविधा हुनैपर्छ । यसले ट्वान्टी–२० क्रिकेटलाई अझ रोमाञ्चक बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान र दिउँसो हुने खेल हुँदा अपेक्षा गर्यो भने त्यसले रोमाञ्चकताको हद पार गर्नेछ ।
पहिलो खेल छ, इलिमिनेटर । त्यसमा भिड्ने छन् चितवन राइनोज र कर्णाली याक्स । चितवन अंकतालिकाको तेस्रो स्थानमा ८ अंकसहित थियो । सायद प्रतियोगिता सुरु हुन अगाडि चितवनलाई कसैले यो स्थान त्यसै दिएको भए पनि उसले त्यसलाई सहर्षस्वीकार्ने थियो । यस्तोमा किनभन्दा कम्तीमा कागजमा चितवनको छवि केही कमजोर थियो । तर, मैदानमा यसले केही मीठा जित निकाल्यो । त्यसमा सबैभन्दा बढी उल्लेखनीय रह्यो, सुदूरपश्चित रोयल्स र जनकपुर बोल्ट्सविरुद्ध नै ।
एक प्रकारले चितवन ‘किङ मेकर’ जस्तै रह्यो, अंकतालिकामा कुन टिम कहाँ रहनेछ भनेर निर्धारण गर्ने । यहाँनिर चितवनका दुई विदेशी खेलाडीको नाम उल्लेख गर्नुपर्ने हुन्छ । बलरतर्फ पाकिस्तानका सोहेल तनवीर अनि ब्याटरतर्फ रवि बोपारा ।
तनवीरलाई बलियो साथ दिए युवा देव्रेहाते तीव्र गतिका बलर रिजन ढकालले । उनी प्रतियोगिताको एउटा खोजको रूपमा देखिएका छन् । ठीक यही बेला कुशल मल्लले पनि छनक देखाएका छन्, आफू लयमा फर्किएको छु भनेर । धेरै अर्थमा कर्णाली भने भाग्यमानी टिम रह्यो । टोलीको पनि ८ अंक नै थियो । रह्यो चौथो स्थानमा ।
उसलाई नेट रेनरेटले साथ दियो भन्दा हुन्छ । तर, खेलमा भाग्यले त्यही टिमलाई त साथ दिन्छ, जसले बहादुरीपूर्वक खेल्छ । प्रतियोगिता सुरु हुनुअगाडि नै चर्चामा कुनै टिमले अरू सबैलाई पछाडि छाडेको थियो भने त्यो कर्णालीले नै थियो । तर जतिबेला प्रतियोगिता सुरु भयो । लाग्यो, कतै यो हल्ला गर्ने टिम मात्र त होइन ? तर होइन रहेछ । प्रतियोगितामा कर्णालीले लगातार आत्मसात् गरेका चार जित यसकै उदाहरण त हो ।
शिखर धवन भित्र्याएर कर्णालीले तहल्का नै मच्चायो । प्रमाणित गर्यो, क्रिकेट खेलमात्र होइन, यसले देशको छवि बनाउन पनि मदत गर्छ । शिखरको प्रदर्शन आफैंमा न खराब रह्यो न त राम्रो नै । अस्ट्रेलियाका विलियम बोसिस्टो आएपछि भने कर्णालीको खेल चम्किएको मान्न सकिन्छ । गुलशन झाको प्रदर्शन ठीकठाक नै छ । सायद कोही एक खेलाडीले धेरैको मन चोरेको छ भने ती हुन्, लोकल आइकोनिक खेलाडी हुँदै एकाएक चर्चामा छाएका विपिन शर्मा ।
चितवन र कर्णालीबीचको खेलमा जसले जित्यो, त्यसले अर्को क्वालिफायर खेल्नेछ । हार्ने टिम पक्कै पनि निराश हुनेछ । सोच्नेछ, कति धेरै नजिक थियौं तर अझै कति टाढा रहेछ । त्यो खेल हुनेछ, क्वालिफायर–२ । त्यसभन्दा अगाडि हुनेछ, क्वालिफायर–१ । यसमा जित्ने टिम सिधै फाइनल पुग्नेछ । हार्नेलाई थप एक मौका हुनेछ । हार्ने टिमले फेरि भिड्ने हो, त्यही इलिमिनेटर विजेतासँग । क्वालिफायरको यही भिडन्तमा उत्रनेछन्, सुदूरपश्चिम र जनकपुर ।
कुनै एक टिमसँग डाहा गर्न सकिन्छ भने त्यो सुदूरपश्चिम नै हो । लिग चरणका ७ खेलमध्ये ६ खेल जित्नुले भन्छ, यो टिममा पक्कै केही राम्रो छ । त्यसैले त यो १२ अंकसहित शीर्षस्थानमा रह्यो । फेरि यसले भावनात्मक रूपमा सुदूरपश्चिमकै जसरी प्रतिनिधित्व गरिरहेको छ । त्यो पनि हेर्नलायक छ । अब यस्तो टिमको ब्याटिङ र बलिङ राम्रो हुनुपर्यो नै । सुदूरपश्चिमले किन राम्रो गर्यो भन्दा त्यसको ठ्याक्कै उत्तर हो, यसका विदेशी खेलाडीले राम्रो गरिरहेका छन् ।
ब्रान्डन म्याकमुलेन भन्ने कि स्कट कुग्लेइन, दुवैले दमदार खेलेका छन् । जतिबेला धेरैले विनोद भण्डारीलाई बिर्सने प्रयास गरिरहेका थिए, उनले आफ्नो प्रदर्शनको मदतमा फेरि सम्झन बाध्य पारेका छन् । विकेट पछाडि उनको सटिकपनको प्रशंसा गर्नु नै पर्छ । र, रह्यो, जनकपुरको कुरा । यो टिमले प्रतियोगितामा सुरुमै एक प्रकारको लय स्थापित गरेको थियो । सुदूरपश्चिमविरुद्ध डाह हुन्छ भने यो जनकपुर टिमप्रति सहानुभूति हुनेछ । विशेषतः तटस्थ समर्थकको ।
अझ भनौं, जनकपुरको प्रदर्शन भलाद्मी नायकको जस्तो छ । जनकपुर ७ मध्ये ५ खेलमा विजयी रह्यो । सुरुआती खेलहरू जितेर टोलीले तहल्का नै मच्चायो भन्दा हुन्छ । यी खेलमा टोलीको प्रदर्शन राम्रो रह्यो । त्यसपछि भने त्यही प्रदर्शन केही हदसम्म तलमाथि पर्यो । फेरि एकपल्ट दोहोर्याएर भन्नुपर्छ, जनकपुरका लागि सर्वाधिक महत्त्वका खेलाडी हुन्, लाहिरू मिलान्था अनि जिम्मी निसम । सँगै आफ्नै ललित राजवंशी पनि छन् ।
तर कप्तान अनिल साहको चोटलाई लिएर टोली अन्योल छ । सुदूरपश्चिमविरुद्धको खेलमा सम्भवतः उनी हुने छैनन् । औंलामा लागेको चोटका कारण उनले प्रतियोगिता गुमाउने सम्भावना छ । जनकपुरसामु एउटा कुशल कप्तान र ओपनिङ ब्याटर दुवैको विकल्पमा संयोजन मिलाएर टोली उतार्नुपर्ने चुनौती पनि छ ।
भनेपछि जतिबेला चितवन र कर्णाली दिनको पहिलो खेलमा भिड्नेछन्, त्यतिबेला दुवै टिमसामु कुनै प्रकारको त्रुटि गर्ने मौका हुन्न । गर्छ भने उसको चुनौती त्यही बेला सकिन्छ । यो खेल जित्नेले आफ्नो आत्मविश्वास ब्युँझाउन सक्छ । दिनको दोस्रो खेलले पनि हार्नेलाई मौका दिन्छ । यो टिमलाई आफ्नो कमजोरी कहाँनिर छ भनेर विश्लेषण गर्ने अवसर हुनेछ । बुधबारको खेलको सबैभन्दा ठूलो विजेता भने त्यही हुनेछ, जसले सिधै फाइनलमा स्थान बनाउने छ ।
विजेतालाई १ करोड १० लाख
नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको प्लेअफ खेल सुरु हुनु अघिल्लो दिन पुरस्कार राशिको घोषणा गर्दै विजेतालाई नेपाली खेलकुदको सबैभन्दा ठूलो रकम दिन लागेको जनाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७२ मा नेसनल लिग विजेता टोलीलाई पुरस्कार राशि १ करोड प्रदान गरेको थियो, जुन थ्रीस्टार क्लबले जितेको थियो । त्यसयता नेपाली खेलकुदमा एनपीएलले घोषणा गरेको यो रकम सबैभन्दा ठूलो पुरस्कार राशि हो । एनपीएलको उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।
