विदेशी खेलाडीको योगदानमा कर्णालीको उच्च प्रर्दशन

चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Karnali's high performance due to the contribution of foreign players

काठमाडौँ — तीन विदेशी खेलाडीहरु जयकिशन कोल्शावाला, विलियम बोसिस्टो र चाडविक वाल्टनको योगदानमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

चितवन राइनोजका कप्तान कुशल मल्लले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७५ रन बनाएको थियो ।

नेपाली क्रिकेटमा परिचित रहे पनि प्रतियोगितामा पहिलो पटक खेलिरहेका कोल्शावालाले ३९ बलमा ५३, बोसिस्टोले ३९ बलमा ५२ र वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए । विकेटकिपर–ओपनिङ ब्याटर कोल्शावालाले ६ चौका र २ छक्का तथा उच्च फर्ममा रहेका बोसिस्टोले ३ चौका र २ छक्का प्रहार गरे । वाल्टनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

प्रतियोगितामा दोस्रो पटक मौका पाएका रित गौतम पुनः शुन्यमा आउट भए । गुलशन झाले पनि खाता खोल्न सकेनन् । जेसन मक्सुद १२ बलमा १४ र देव खनाल ३ रन बनाई आउट भए । चितवनबाट सोहेल तनवीरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । शरद भेषावकर, रवि बोपारा र कप्तान कुशल मल्लको नाममा १–१ विकेट रह्यो ।

राउन्ड रोबिन लिगमा चितवन र कर्णाली दुवैले समान ४ खेल जितेर प्लेअफमा पुगेका थिए । राम्रो रन रेटका कारण चितवन तेस्रो स्थानमा रहेको थियो । चितवन र कर्णाली बीचको विजेताले क्वालिफायर २ मा खेल्ने छ । दिनको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले क्वालिफायर २ मा चितवन र कर्णालीको विजेतासँग खेल्ने छ ।

चितवनले भेट्रान शरद लाई टोलीमा फिर्ता बोलाएको छ । उनलाई दीपक बोहराको स्थानमा खेलाइएको छ । त्यस्तै बसिल हमिदको स्थानमा लुक बेन्केन्स्टेइनलाई खेलाइएको छ । कर्णालीबाट कोल्शावालाले कर्णालीको प्लेयिङ ११ मा बाबर हायतको स्थान लिएका छन् ।

राउन्ड रोबिन लिगमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो दुई खेल हारेको कर्णालीले त्यसपछिका लगातार चार खेलमा विजय हात पार्नेक्रममा चितवनमाथि पहिलो खेलमा विजय हात पारेको थियो । 

कान्तिपुर

Link copied successfully