पाँचथर — ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सार्वजनिक खेलतालिका अनुसार पुस ६ मा हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले कर्साङ फुटबल क्लब भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापामगरका अनुसार पुस ७ गते मछिन्द्र एफसीले झापा ११ खेल्छ भने पुस ८ मा त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पुस ९ मा मछिन्द्र र झापाको विजेताले सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पुस १० मा चर्च ब्बाइज युनाइटेड र विराटनगर एफसी तथा पुस ११ मा एनआरटी र सलहेश फुटबल क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । पुस १२ र १३ मा सेमिफाइनल तथा पुस १५ मा फाइनल हुनेछ ।
जिल्लाको सर्वाधिक पुरस्कार राशि रहेको फाल्गुनन्द गोल्डकप विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
म्यान अफ द म्याचले १० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार र विधागत उत्कृष्टले जनही १० हजार पाउनेछन् ।
नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरु फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म भएर स्थगित भएको थियो । प्रतियोगितालाई यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।
फाल्गुनन्द गोल्डकपका लागि तयारी गरिएको फिदिम बजारमा अवस्थित फिदिम माविको खेल मैदान ।
