काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । चितवन राइनोजका कप्तान कुशल मल्लले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेका हुन् ।
राउन्ड रोबिन लिगमा चितवन र कर्णाली दुवैले समान ४ खेल जितेर प्लेअफमा पुगेका थिए । राम्रो रन रेटका कारण चितवन तेस्रो स्थानमा रहेको थियो । चितवन र कर्णाली बीचको विजेताले क्वालिफायर २ मा खेल्ने छ ।
दिनको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले क्वालिफायर २ मा चितवन र कर्णालीको विजेतासँग खेल्ने छ ।
चितवनले भेट्रान शरद भेषावकरलाई टोलीमा फिर्ता बोलाएको छ । उनलाई दीपक बोहराको स्थानमा खेलाइएको छ । त्यस्तै बसिल हमिदको स्थानमा लुक बेन्केन्स्टेइनलाई खेलाइएको छ ।
कर्णालीबाट पहिलो पटक जयकिशन कोल्शावालालाई पहिलो पटक खेलाएको छ । भारतीय खेलाडीले कर्णालीको प्लेयिङ ११ मा बाबर हायतको स्थान लिएका छन् ।
राउन्ड रोबिन लिगमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो दुई खेल हारेको कर्णालीले त्यसपछिका लगातार चार खेलमा विजय हात पार्नेक्रममा चितवनमाथि पहिलो खेलमा विजय हात पारेको थियो ।
