मकवानपुर — दोस्रो संस्करणको वाग्मती प्रदेश लिग फुटबल प्रतियोगिता हेटौंडामा हुने भएको छ । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा पुस १० देखि हुनेछ ।
११ जिल्लाका लिग च्याम्पियन क्लबको सहभागिता रहने आयोजक वाग्मती प्रदेश फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै तयारी विषयमा जानकारी दिइएको हो । ‘प्रतियोगिताको तयारी पूरा भएको छ । हामी मैदानको स्तरोन्नति गर्ने, खेल र खेलाडीलाई व्यवस्थापन कार्यमा जुटेका छौं,’ एन्फा सदस्य टीकाराम लामाले भने ।
लिगमा पदमपोखरी युवा क्लब (मकवानपुर), बीएफसी (चितवन), धुनिबेसी युथ समाज (धादिङ), बट्टार युथ क्लब (नुवाकोट), चित्लाङ फुटबल क्लब (काठमाडौं), थिमी युथ क्लब (भक्तपुर), माउण्ट एभरेस्ट एफसी (काभ्रे), चौतारा स्पोर्टिङ (सिन्धुपाल्चोक), टाइगर टिम (दोलखा), ब्लु अल्पाइन (सिन्धुली) र ललितपुर क्लबको सहभागिता हुनेछ ।
लिगकम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने मौका प्राप्त गर्ने आयोजक संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले बताए ।
विजेताले २ लाख र उपविजेताले १ लाखसहित सिल्ड प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकको छ ।
वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले खेलतालिका सार्वजनिक गरेका थिए । तालिकाअनुसार समूह ‘ए’ मा काठमाडौं, काभ्रे र चितवन, समूह ‘बी’ मा भक्तपुर सिन्धुली र सिन्धुपाल्चोक, समूह ‘सी’ मा धादिङ, ललितपुर र मकवानपुर तथा समूह ‘डी’ मा नुवाकोट र दोलखाका लिग च्याम्पियन क्लब छन् ।
