काठमाडौँ — न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट मंगलबार ठूलो अन्तरले जितेको छ । ह्यामल्टनमा भएको टेस्टको चौथो दिन न्युजिल्यान्ड ४ सय २३ रनले विजयी रह्यो । यससँगै तीन टेस्टको सिरिज इंग्ल्यान्डको पक्षमा २–१ ले टुंगेको छ ।
जितका लागि ६ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ३४ रन मात्र बनाएर अलआउट भयो । पाहुना टिमका लागि ज्याकोब बेथलले ७६, जोए रुटले ५४ र गस एटकिन्सनले ४३ रन बनाए ।
न्युजिल्यान्डका बलरमध्ये मिचेल सान्टर सबैभन्दा बढी सटिक रहे । उनले ८५ रनमा चार विकेट लिए । यस्तै म्याट केनरी र टिम साउथीले दुई दुई विकेट हात पारे । सान्टर नै ‘प्लेयर अफ द म्याच’ रहे ।
इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा १ सय ४३ रनमा समेटिएपछि न्युजिल्यान्डको जितको आधार तयार भएको हो । घरेलु टिममले आफ्ना दुई इनिङ्समा ३ सय ४७ र ४ सय ५३ रन बनाएको थियो ।
पाहुना टिमका ह्यारी ब्रुक्स ‘प्लेयर अफ द सिरिज’ रहे । इंग्ल्यान्डले क्राइसचर्च र वेलिङटनमा भएका सुरुआती दुई टेस्ट जितेर सिरिज आफ्नो नाममा लेखाएको थियो ।
