काठमाडौँ — नेपाली यू–१९ पुरुष टोलीले सोमबार पहिलो खेलमा हङकङ यू–१९ टिमलाई ३ विकेटले पराजित गर्दै तीन खेलको शृंखलामा अग्रता लिएको छ ।
मूलपानी क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल युथले टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको हङकङ निर्धारित ५० ओभरको खेलमा ४१.१ ओभरमा १ सय १३ रनमा अलआउट भयो ।
अब्दुल समादले अविजित ५० रन बनाए पनि हङकङले धेरै ठूलो बनाउन सकेन । उनले ५ चौका प्रहार गरे । कप्तान शिव माथुरले २९ बल खेल्दै ३ चौकासहित २० रन बनाए भने अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नेपालबाट सन्तोष यादवले ४ विकेट लिए । उनले ७ ओभरमा २ मेडन राख्दै ८ रनमात्र खर्चे । दयानन्द मण्डलले २, कप्तान अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले १–१ विकेट लिए ।
नेपालले २६.४ ओभरमा १ सय १६ रन बनायो । सोहेल कुँवर ९, सुर्यांशु कोइराला ६, नरेन भट्ट २, रोहन विश्वकर्मा ४ रन बनाई आउट भए । सिब्रिनले सर्वाधिक २३ रन बनाए । उनले ३० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । सन्तोष १५ र अभिषेक १० रनमा आउट भए । दिसाद अलीले अविजित १८ रन बनाएर नेपाललाई जिताए । अपराजित पौडेल ९ रनमा अविजित रहे ।
नेपालले हङकङसँग अब बुधबार खेल्नेछ ।
