काठमाडौँ — अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्टको तेस्रो दिन सोमबारको खेल पनि वर्षाले प्रभावित रह्यो । खेल वर्षाले विथोलिएर रोकिन अगाडि भारतले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा ५१ रन बनाएको छ ।
यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ४ सय ४५ रन बनाएको थियो । तेस्रो दिनको खेल टुंगिएको घोषणा हुँदा अस्ट्रेलिया अझै ३ सय ९४ रनले अगाडि छ । टेस्टको बाँकी दुई दिन पनि वर्षाले प्रभावित हुन सक्ने बताइएको छ ।
भारतका लागि केएल राहुल ३३ रनमा खेलिरहेका छन् र उनलाई खाता खोल्न बाँकी रोहित शर्माले साथ दिइरहेका छन् । ब्याटिङमा भारतको प्रदर्शन फेरि एकपल्ट कमजोर रह्यो ।
आउट हुने ब्याटरमध्ये यशस्वी जयसवालले ४, शुभमन गिलले १, विराट कोहलीले ३ र ऋषव पन्तले ९ रन बनाएका छन् । अस्ट्रेलिका लागि मिचेल स्टार्कले दुई विकेट लिएका छन् । पाँच टेस्टको सिरिज १–१ को बराबरीमा छ ।
