शीर्षमा उक्लियो सुदूरपश्चिम

चितवन राइनोज प्लेअफमा निश्चित,  काठमान्डु गुर्खाजको सम्भावना सुदूरपश्चिम र कर्णालीको खेलमा निर्भर

पुस १, २०८१

कान्तिपुर संवाददाता

Far West rose to the top

काठमाडौँ — पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गरेसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । कम्तीमा प्लेअफमा पुगेको सुदूरपश्चिम ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ । मजबुत रन रेटका कारण सुदूरपश्चिम क्वालिफायर्स १ मा पनि निश्चितजस्तै छ । 

स्कट कुग्लेनले ५ विकेट लिएपछि १ सय ५४ रनको लक्ष्य लिएर आएको पोखरा १९.४ ओभरमा १ सय ४८ रनमा अलआउट भयो । पहिलो दुई ओभरको स्पेलमा १ रन मात्र खर्चेर ३ विकेट लिएका कुग्लेन दोस्रो स्पेलमा आउँदा पोखरा विजयको नजिक थियो । आफ्नो तेस्रो ओभरमा उनले १५ रन खर्चेपछि पोखरालाई अन्तिम २ ओभरमा विजयका लागि १५ रनको आवश्यकता थियो ।

१९ औं ओभरमा हरमित सिंहले ७ रन मात्र खर्चेर रामोन रिफर र माइकल लिस्कको विकेट लिए । पोखरालाई अन्तिम ओभरमा विजयका लागि ८ रन चाहिने अवस्थामा कुग्लेनले किरण ठगुन्ना र विपिन खत्रीको विकेट लिए भने सुदीप अर्याल रनआउट भए । न्युजिल्यान्डका तीव्र बलर कुग्लेनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । हरमितले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । 

ओपनर आन्द्रिज गाउसले पोखराबाट सर्वाधिक ३६ रन बनाए । उनले २१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । रिफरले २८ बल खेली समान २ चौका र छक्काका साथ ३३ तथा किरण ठगुन्नाले २८ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । कप्तान कुशल भुर्तेल शून्य र दिलीप नाथ १ रनमै आउट भएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५३ रन बनायो । प्रतियोगिताको यसअघिका ५ खेलमा २२ रन मात्र बनाउन सकेका आरिफले ३८ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए ।

सैफ जैब ९, विनोद भण्डारी १४, ब्रान्डन म्याकमुलेन २३, हरमित १३, कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाई आउट भए । ईशान पाण्डे १० रन बनाई रिटायर्ड आउट भए । उनको स्थानमा आएका कुग्लेनले ३ बलमा २ रन मात्र बनाउन सके । नरेश बुढाएर ३ बल खेली ६ रनमा अविजित रहे । कुशलले ४ ओभरमा २७ खर्चेर २ तथा रिफर, लिस्क र सागर ढकालले १–१ विकेट लिए ।

पोखरा ७ खेलमा २ मा मात्र विजयका साथ अंक तालिकामा सातौं स्थानमा रह्यो । यता काठमान्डुको झिनो आशा भने सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीचको खेलमा अडिएको छ । गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गर्‍यो ।

कर्णालीले ठूलो अन्तरको हार बेहोरेमा मात्र गुर्खाज प्लेअफमा पुग्न सक्छ । कर्णालीसँगै समान ८ अंक भए पनि नेट रन रेटमा गुर्खाज पछाडि छ । गुर्खाजको विजयले चितवन राइनोजको प्लेअफमा स्थान औपचारिक रूपमै निश्चित भयो । 

दीपेश कँडेलले निर्णायक अवस्थामा चौका प्रहार गरेपछि काठमान्डुले १ सय १८ रनको लक्ष्य १८.१ ओभरमा १ सय २० रन बनाउँदै पूरा गरेको हो । दीपेश र शंकर रानाको अन्तिम जोडीले १८ रनको अविजित साझेदारी गरे । टिमलाई विजयका लागि २ रनको आवश्यकता भएको समयमा दीपेशले सुवास भण्डारीको बलमा विजयी चौका प्रहार गरे । दीपेशले ५ बलमा अविजित ११ रन बनाउने क्रममा समान १ चौका र छक्का प्रहार गरे । अर्का अविजित ब्याटर शंकरले २० बल खेली १ चौकासहित १६ रन बनाए ।

प्रतीक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बल खेली समान २ चौका र २ छक्का प्रहार गरे । स्टेफन इस्किनाजी १, माइकल लेभिट १०, जेहरार्ड इरसमस १२, भीम सार्की १, ड्यान डाउथवेट १, रसिद खान १४, कप्तान करण केसी शून्यमा आउट भए । सन्दीपले ४ ओभरमा १९ रन मात्र खर्चेर ३, क्रिस सोलले ४ ओभरमा २१ र बसिर अहमदले ४ ओभरमा २७ रन खर्चेर २–२ विकेट लिए ।

पहिला ब्याटिङ गरेको विराटनगर १९.५ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । अफ स्पिनर इरसमसले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्कट इडवार्डसलाई बोल्ड गरेका उनले एकै ओभरमा क्रिस सोल र सन्दीपको विकेट पनि लिए । देब्रेहाते स्पिनर दीपेशले ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिए । शाहव आलम, डाउथवेट र करणले १–१ विकेट लिए । 

राजेश पुलामीले विराटनगरबाट सर्वाधिक २५ रन बनाए । उनले २१ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे । लोकेश बम ८, दीपक बोहरा २४ बलमा २०, निकोलस कृतन १२ बलमा १०, इडवार्डस १५ बलमा १४, बसिर अहमद १३ बलमा १३, इस्मातुल्लाह आलम ५, सोल १, लामिछाने र अनिल खरेल समान शून्यमा आउट भए । सुवास भण्डारी ६ रनमा अविजित रहे ।  

कान्तिपुर

Link copied successfully