काठमाडौँ — नेपाल विद्यार्थी संघले अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय ‘जय नेपाल कप’ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।प्रतियोगिताको ब्राण्ड एम्बेसडरका रूपमा विश्व कीर्तिमानी १८ वर्षीय आरोही निमा रिन्जी शेर्पालाई चयन गरिएको नेविसंघको अध्यक्ष दुर्जाङ शेर्पाले जनाए ।
शेर्पा सगरमाथा हिमालका सबैभन्दा कान्छा कीर्तिमानी आरोही हुन् । नेविसंघ अध्यक्ष शेर्पा र निमा रिन्जी शेर्प बीच ब्राण्ड एम्बेसडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
साथै प्रतियोगिताको नारा र उद्देश्य समस्त मानव सभ्यताका लागी नै उपयोगी हुने हुँदा निमा रिन्जी शेर्पाले यस प्रतियोगिताबाट कुनै शुल्क वा पारिश्रमिक नलिने गरी सम्झौता गरेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले बताए । प्रतियोगिता माघमा नेपालमा नै हुनेछ । मिति र स्थान निर्धारण हुन बाँकी छ ।
नेपालसहित भारत, भुटान, श्रीलंकालगायतका विश्वविद्यालयबाट खेलाडीहरु खेलमा सहभागी हुने उनले बताए । प्रतियोगिताको नारा ‘विश्वव्यापी उष्णता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प’ रहेको छ । यस प्रतियोगिताले संसारका ८ मुख्य हिमशिखर अवस्थित नेपाल र नेपालका युवाले विश्व जगतलाई वातावरण संरक्षणको अपरिहार्यताका विषयामा खबरदारी गर्न मद्दत पुग्ने नेविसंघले जनाएको छ ।
