काठमाडौँ — त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भारतीय टोली क्यालिकट हिरोजले पहिलो काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
क्यालिकटले नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएर ट्रफी उचालेको हो । हेल्प नेपालले क्यालिकटलाई लिग चरणमा हराएको थियो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको क्यालिकटविरुद्ध नेपाली टिमले २६–२४ ले दोस्रो सेट जितेर खेल १–१ को बराबरीमा ल्यायो । तर हेल्प नेपालले पुनरागनको लय कायम राख्न सकेन ।
२५–१४, २५–१७ ले तेस्रो र चौथो सेट गुमाएपछि क्यालिकट उपाधि हकदार बनेको थियो ।
इमको संन्यास
फाइनलअघि नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान इम रानामगरले अन्तर्राष्ट्रिय भलिबलबाट संन्यास लिएका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले एक लाख, सम्मान पत्र र कोट लगाइदिएका थिए ।
खेलाडीका रूपमा दुई दशकभन्दा बढी समय बिताएका इमको कप्तानीमा नेपालले २०७३ सालमा सेन्ट्रल जोन काभा भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली पुरुष भलिबल टोलीले जितेको यो एकमात्र अन्तराष्ट्रिय पदक हो । सन् २००६ मा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
