प्लेअफका तीन स्थानमा चार प्रतिस्पर्धी

सुदूरपश्चिम, चितवन र कर्णाली याक्स समान ८ अंक लिएर क्रमशः दोस्रोदेखि चौथो स्थानमा, आइतबारको खेल जित्दै प्लेअफ होडमा बलियो बन्ने काठमान्डु गुर्खाजको दाउ   

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Four contenders for three playoff spots

काठमाडौँ — चितवन राइनोज र काठमान्डु गुर्खाज शनिबार विजयी भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा सुरक्षित हुन तीन स्थानका लागि चार टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक स्थितिमा पुगेको छ । 

सशक्त ब्याटिङ प्रदर्शन गरेको चितवनले शीर्षस्थानको जनकपुर बोल्ट्सलाई ३२ रन र गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । राउन्ड रोबिन लिगको ३ खेल खेल्न बाँकी रहेको अवस्थामा जनकपुर १० अंकसहित शीर्षस्थानमा यथावत् छ ।

प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काल गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरू टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । चितवनले विजयसँगै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । आफ्नो सबै ७ खेल खेलिसकेको चितवनसँग ८ अंक छ । 

सुदूरपश्चिम रोयल्सहित चितवन र कर्णाली याक्स समान ८ अंक लिएर क्रमशः दोस्रोदेखि चौथो स्थानमा छन् । गुर्खाज ६ अंकसहित पाँचौं स्थानमा छ । चितवनको जितले विराटनगर किंग्स र पोखरा प्लेअफको औपचारिक दौडबाट बाहिरिएका छन् । १–१ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै टोलीको ४–४ अंक छ । गुर्खाजले आइतबार विराटनगर र सुदूरपश्चिमले पोखरासँग खेल्नेछ । शीर्ष चारमा रहेर प्लेअफमा पुग्न गुर्खाजलाई यो खेल जित्नैपर्छ । 

सुदूरपश्चिमले दुईमध्ये एक खेल जितेमा पनि शीर्ष टोली बन्ने निश्चितजस्तै हुनेछ । कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईभित्र पनि पर्न सक्छ । अन्यथा कम्तीमा शीर्ष चारमा स्थान निश्चित हुनेछ । तर, कर्णाली आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएमा टोलीलाई गुर्खाजले उछिन्ने सम्भावना रहन्छ । 

निशमलाई पन्छाउँदै चितवनको महत्त्वपूर्ण जित

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमको साहसिक इनिङ्स पन्छाउँदै चितवनले निर्णायक जस्तै मानिएको खेलमा जनकपुरलाई पराजित गरेको थियो । निसमले २४ बलमा ६५ रन बनाए पनि १ सय ८१ रनको लक्ष्य पाएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।

पहिलो ४ खेल जितेको जनकपुरले त्यसपछिका तीन खेलमा दुई पराजय भोगिसकेको छ । हारमा दुःखभन्दा प्लेअफ अगाडि आफ्नो टोलीको वास्तविक परीक्षण भएकामा जनकपुरका प्रशिक्षक पुबुदु दासानायके खुसी देखिन्थे । उनले अहिले पनि आफ्नो टोली शीर्ष दुईलाई मजबुत स्थितिमा रहेको बताउँछन् । 

निसमले १८ बलमै अर्धशतक बनाए । उनी २१ बलमा ५८ रनमा हुँदा सोहेल तनवीरको बललाई क्याच दिन पुगेका थिए । तर तनवीरको बल ओभर स्टेप भएकाले नो–बल रहेका कारण पेभेलियनतिर गइरहेका निसम पुनः क्रिजमा फर्किए । फ्री हिटमा प्राप्त अवसरमा निसमले छक्का प्रहार गरे ।

उनले कुल ५ चौका र ६ छक्का प्रहार गरी ६५ रन बनाएर तनवीरकै बलमा आउट भए । निसम र मोहम्मद मोहिसनले २६ बलमा ६० रनको साझेदारी गरेका थिए । मोहसिन १२ बलमा २ चौकासहित १३ रन बनाई रनआउट भएपछि यो साझेदारी टुटेको हो ।

पहिलो ओभरमा दुई चौका प्रहार गरेका अनिल साह सोही ओभरको अन्तिम बलमा रिजन ढकालको बलमा आउट भए । लाहिरू मिलान्था १ र हर्ष ठाकर ६ रनमै आउट भए । शुभ कंसाकारले १२ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । ओपनर आसिफ शेखले २६ बलमा ४ चौकासहित २३ रन बनाए । रिजन, तनवीर र कप्तान कुशल मल्लले २–२ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको ७२ रनमा १८०–५ को स्कोर बनायो । कुशल र रवि बोपाराले चौथो विकेटमा ६७ बलभित्र १ सय १३ रनको साझेदारी गरेपछि चितवनले बलियो स्कोर बनाएको हो । ५४ रनमा हुँदा आसिफले क्याच छाडेपछि जीवनदानको फाइदा उठाउँदै कुशलले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । बोपाराले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए ।

ओपनर विपिन रावल ३ रनमात्र बनाई ललित राजवंशीको बलमा आउट भए । सन्तोष कार्कीलाई १४ रनमा मोहसिनले बोल्ड गरे । ओपनर हसन इसाखिलले १९ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । एनपीएलका उच्च विकेटकर्ता ललित राजवंशीले २ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै ११ रनमात्र खर्चे । हर्ष ठाकर, जिम्मी निसम र मोहसिनले १–१ विकेट लिए । 

गुर्खाजको सानदार ब्याटिङ

स्टेफन इस्किनाजीको अर्धशतकमा काठमान्डु गुर्खाजले दिनको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि ६ विकेटको सानदार जित पाएको थियो । यसअघिका २ खेलमा २० ओभर खेल्न नसकी अलआउट गुर्खाजले १ सय ३९ रनको लक्ष्य केवल १४.१ ओभरमै १ सय ४२ रन बनाएर पूरा गरेको थियो । 

जितले टोलीमाथिको दबाब कम गरेको गुर्खाजका उपकप्तान जेहर्राड इरसमसले स्वीकारे । विदेशी खेलाडीलाई यो कन्डिसन र विकेटमा खेल्न गाह्रो हुँदा टोलीको प्रदर्शनमा असर परेको जनाउँदै इरसमसले अहिले विदेशी खेलाडीले यो स्थिति बुझिसकेको बताए ।

२८ बलमा अर्धशतक बनाएका इस्किनाजीले माइकल लेभिटसँग मिलेर गुर्खाजलाई आक्रामक सुरुआत दिलाए । लेभिट १८ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाई आउट भए पनि गुर्खाजले पावर प्लेको पहिलो ६ ओभरमा ५९ र पहिलो १० ओभरमा ९५ रन जोडेर उत्कृष्ट ब्याटिङ प्रदर्शन देखायो ।

लेभिटलाई विपिन खत्रीको बलमा आन्द्रेस गाउसले स्टम्पआउट गरे । इस्किनाजीले भीम सार्कीसँग दोस्रो विकेटमा ३७ बलमा ६७ रनको साझेदारी गरे । भीम २० बलमा समान १ चौका र छक्का प्रहार गरी २२ रनमा आउट भए । प्लेयर अफ द म्याच इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गर्दै ६० रन बनाए ।

माथिल्लोक्रममा पठाइएका कप्तान करण केसी १ रनमात्र बनाई विपिनको बलमा स्टम्पआउट भए । आफूले सामना गरेको पहिलो दुईबलमा क्रमशः छक्का र चौका प्रहार गरेका इरसमसले १० बलमा १ चौका र ३ छक्कासहित २५ र रशिद खान १ रन बनाई अविजित रहे ।

यसअघि काठमान्डुले टस जितेपछि ब्याटिङ निम्ता पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाई १ सय ३८ रन बनायो । नामिबियाका कप्तान इरसमसले दोस्रो ओभरमै गाउसलाई शून्यमा आउट गरेर गुर्खाजलाई पहिलो सफलता दिलाए । अर्का ओपनर दिनेश खरेलले ३८ रन बनाए । उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

रशिद खनाले दीनेशसहित कप्तान कुशल भुर्तेल र दिलीप नाथको विकेट लिएर खेलमा गुर्खाजलाई हाबी गराए । पुनः एक पटक ब्याटिङबाट निरास बनाएका भुर्तेल ७ रन बनाई बोल्ड भए । टोलीमा फिर्ता आएका दिलीपले पनि बोल्ड हुनुपूर्व २४ बल खेल्दै २ छक्कासहित २७ रन बनाए । 

प्रतियोगितामा पहिलो खेल खेलिरहका आकर्षित गोमेललाई माइकल लेभिटले ८ रनमा एलबीडब्लू आउट गरे । त्यसपछि करणले माइकल लिस्क १, नारायण जोशी शून्य र विपिनलाई ४ रनमा अलआउट गरेर पोखराको तल्लोक्रम भत्काइदिए ।

रेमोन रिफर ४१ रन बनाई अविजित रहे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । सागर ढकाल १ रनमा अविजित रहे । गुर्खाजबाट करण र रशिदले ३–३ विकेट लिए । करणले ४ ओभरमा २४ र रशिदले ४ ओभरमा ४३ रन खर्चे । इरसमसले ४ ओभरमा १४ र लेभिटले ३ ओभरमा १३ रनमात्र खर्चेर १–१ विकेट लिए ।

कान्तिपुर

Link copied successfully