काठमाडौँ — अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन आइतबार सुदृढ ब्याटिङको नमुना पेस गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलिया ७ विकेट गुमाएर ४ सय ५ रनको बलियो स्थितिमा रहेको छ । त्यसमा स्टिभ स्मिथ र ट्रेभिस हेडले शतक बनाए ।
स्मिथले १ सय १ रन बनाए । त्यसमा १२ चौका सामेल थियो । हेडले भने १८ चौकाको मद्दतले १ सय ५२ रन बनाए । उनीहरूले चौथो विकेटका लागि २ सय ४१ रनको साझेदारी गरे ।
दिनको अन्त्यमा एलेक्सी केरी ४५ रन बनाएर खेलिरहेका छन् र उनलाई ७ रन बनाएका मिचेल स्टार्कले साथ दिइरहेका छन् । भारतीय बलरमध्ये जसप्रित बुमराहमात्रै प्रभावशाली रहे । उनले ७२ रन खर्चेर ५ विकेट लिइसकेका छन् ।
घरेलु टिमले बिना कुनै विकेटको क्षति २८ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । पहिलो दिनको खेल वर्षाले प्रभावित रहेको थियो । पाँच टेस्टको सिरिज रोमाञ्चक १–१ को बराबरीमा रहेको छ ।
