इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डलाई ठूलो अग्रता

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Big lead for New Zealand against England

काठमाडौँ — न्युजिल्यान्ड तेस्रो तथा अन्तिम टेस्टको आइतबार दोस्रो दिन टुंगिदा ठूलो अग्रतातर्फ अग्रसर रहेको छ । ह्यामल्टनमा दिनको खेल समाप्त हुँदा न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङ्समा तीन विकेट गुमाएर १ सय ३६ रन बनाएको छ ।

यससँगै न्युजिल्यान्डलाई ३ सय ४९ रनको अग्रता प्राप्त भइसकेको छ । घरेलु टिमका लागि केन विलियम्स ५० रन बनाएर खेलिरहेका छन् । अर्का नटआउट ब्याटर रचिन रवीन्द्रले दुई रन बनाएर खेलिरहेका छन् । यसअघि विल योङले ६० रन बनाएका थिए ।

यसअघि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा १ सय ४३ रन बनाएर अलआउट भएको थियो । त्यसमा जोए रुटको ३२ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । न्युजिल्यान्डका लागि म्याट हेनरीले चार विकेट लिए ।

विल ओ’रोउरके र मिचेल सान्टेनरले दुई/दुई विकेट लिए । बिहानको खेलमा न्युजिल्यान्डले नौ विकेट गुमाएर ३ सय १५ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र चाँडै ३ सय ४७ रन बनाएर अलआउट भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully