हेल्प नेपालले क्यालिकटसँग खेल्ने

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले भारतको क्यालिकट हिरोजसँग काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसी र क्यालिकटले इरानको यू–१८ टिममाथि जित पाएको थियो ।

हेल्प नेपालले ३–० को सेटमा जित पाएको थियो । टोलीले २५–१६, २५–१८, २५–२१ को सेटमा खेल जित्यो ।

भारतीय टोली क्यालिकटविरुद्ध हेल्प नेपालले प्रतियोगितामा दोस्रो पटक खेल्न लागेको हो । टोलीले उद्घाटन खेलमै क्यालिकटविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो । 

त्यसअघि क्यालिकट हिरोजले पहिलो सेमिफाइनलमा इरानी युवा टिमलाई ३–१ को सेटमा हराएको थियो । अपराजित हुँदै फाइनल पुगेको इरान पहिलो सेटमा २५–२१ को अग्रताका बावजुद खेल गुमाएको थियो । त्यसपछि क्यालिकटले २५–२२, २५–२०, २६–२४ ले सेट आफ्नो पक्षमा पारेको थियो । 

फाइनल शनिबार हुनेछ । इरान र एचडीसीबीच तेस्रो स्थानको खेल पनि शनिबारै हुनेछ । प्रतियोगितामा सहभागी गण्डकी प्रदेश टिम भने लिग चरणबाटै बाहिरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully