नीरजको अग्रता, सद्भाव पछ्याउँदै

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Neeraj's lead, following the harmony

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन नीरज तामाङले ४ अन्डर ६४ को उत्कृष्ट स्कोरसहित सूर्य नेपाल काठमाडौं ओपन गल्फको तेस्रो दिन शीर्षस्थानमा पुगेका छन् । 

रोयल नेपाल गल्फ कोर्समा बिहीबारसम्म ५४ होलको खेल सकिँदा नीरजले समग्रमा १० अन्डर १९४ सहित अग्रता लिए । उनले एमेच्योर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।

सद्भाव पनि ४ अन्डर ६४ स्कोर गरी समग्रमा ९ अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनको खेल सुरु गर्दाका लिडर विष्णुप्रसाद शर्माले १ ओभर ६९ को खराब प्रदर्शन गरे । उनी समग्रमा ६ अन्डर १९८ को स्कोरसहित तेस्रो स्थानमा झरे । 

नीरज शीर्षस्थानमा पुग्नेक्रममा राम्रो सुरुआत गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक शट खेर फाल्दा फ्रन्टनाइन ३ अन्डर ३१ मा पूरा गरे । यसपछि १० औं र ११ औं होलमा बर्डी प्रहार गरे भने १२ औं होलमा बोगी खेल्दै ब्याकनाइनमा १ अन्डर ३३ को स्कोर निकाले । सद्भावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा ४ बर्डी प्रहार गरे । फ्रन्टनाइन १ अन्डर ३३ र ब्याकनाइन ३ अन्डर ३१ मा सके । उनले चौथो, दसौं, १३ र १७ औं होलमा बर्डीको सफलता पाए । 

विष्णुले फ्रन्टनाइन १ अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा शट खेर फाले । ब्याकनाइनमा लय गुमाएका उनले १० औं होलमा बर्डी प्रहार गरे पनि १५, १६ र १७ औं होलमा लगातार बोगी खेप्दै २ ओभर ३६ मा खेल सकेका थिए । 

समग्रमा ५ अन्डर १९९ स्कोरसहित दिनेश प्रजापति चौथो स्थानमा यथावत छन् । उनले बिहीबार १ अन्डर ६७ को स्कोर गरे । एमेच्योर गल्फर राहुल बिके समग्रमा २ अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले १ अन्डर ६७ मा खेल सके । 

इभन पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १ अन्डर २०३ सहित छैटौं स्थानमा रहे । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन पार २०४ सहित सातौं स्थानमा उक्लिएका छन् । उनले तेस्रो दिन १ अन्डर ६७ खेले । समग्रमा २ ओभर २०६ बनाएका वसन्तराज गुरुङ, रामे मगर र प्रदीपकुमार लामा संयुक्त आठौं स्थानमा रहे । वसन्त र रामेले ३ अन्डर ६५ र प्रदीपले इभन पार ६८ को स्कोर बनाए । अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । विजेताले १ लाख ५० हजार, दोस्रोले ८५ हजार र तेस्रोले ६८ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

कान्तिपुर

Link copied successfully