मातृभूमि, अक्षरिका र स्किब्स क्वाटरफाइनलमा

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक मातृभूमि स्कुलको रातो टिम मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु कोर्टमा मातृभूमिले ज्ञान निकेतनलाई ३५–२७ ले पराजित गर्‍यो । विजयी टिमका लागि सक्षम महर्जनले १७ अंक जोडे ।

मातृभूमिसँगै ओम ज्ञानमन्दिर, अक्षरिका र स्किब्स पनि क्वाटफाइनलमा स्थान बनाउन सफल रहे । ओम ज्ञान मन्दिरले चाणक्यलाई २७–२०, अक्षरिकाले मातृभूमि नीलोलाई १९–१५ र स्किब्सले बौद्ध इन्टरनेसनललाई २१–१४ ले हराए । ओम ज्ञानमन्दिरका रेहान हेक्काले १४, अक्षरिकाका समृद्धले ९ र स्किब्सका युनिक मगरले ८ स्कोर गरे ।

यससंगै जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल मातृभूमि र युनिक नेपाल, एभरेस्ट र अक्षरिका, स्किब्स र ज्ञान निकेतन तथा जनप्रेमी र ओम ज्ञानमन्दिरबीच हुनेछ ।

सिनियर ब्वाइजमा जेम्सले मातृभूमि रातोलाई ४७–४३ ले हरायो । जेम्सका लागि न्याछोनले १५ स्कोर जोडे ।

सिनियर गर्ल्समा मातृभूमि नीलोले चाणक्यलाई २६–१८ तथा इनोभेटिभले निस्ट ‘ए’ लाई २४–९ ले पन्छाए । मातृभूमिकी श्रृति कुटुले १२ र इनोभेटिभकी रिभा वैद्यले ७ स्कोर बटुले ।

कान्तिपुर

Link copied successfully