जितले कर्णालीको सम्भावना जीवन्त

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Karnali's chances are alive with the win

काठमाडौँ — कर्णाली याक्सले नेपाल सुपर लिग २०२४ मा शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ । यससँगै उसको प्ले अफ सम्भावना जीवन्त भएको छ । अब कर्णालीले आफ्नो सातौं तथा अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

त्यसमा कर्णाली जितसँगै अन्य खेलको नतिजा पनि उसको अनुकूल हुनु पर्नेछ । कर्णालीको यो लगातार चौथो जित हो र उसको ८ अंक भएको छ । लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि नौ रन चाहिएको थियो । फास्ट बलर नन्दन यादव नायक भए र उनले त्यस ओभरमा तीन रनमात्रै दिए ।

जितका लागि १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा सात विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्यो । लुम्बिनी भने २ अंकमै सीमित रह्यो । उसको यो अन्तिम खेल पनि हो । यसअघि नै लुम्बिनी प्रतियोगिताबाट बाहिरिसकेको छ ।

लुम्बिनीका लागि सबैभन्दा बढी ३६ रन टम मुर्सले बनाए । यस्तै सन्दीप जोराले २४ रन बनाए । उनले २१ बलको इनिङ्समा दुई छक्का प्रहार गरे । सन्दीपले टम मुर्सले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरे । मुर्सले चार चौका र एक छक्का प्रहार गरे ।  

साद बिन जाफरले इनिङ्सको अन्त्यतिर १६ रन बनाए । लुम्बिनीका बलरमध्ये जिसान मक्सुदले दुई विकेट लिए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा आठ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो र त्यसमा विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । उनले अर्जुन घर्तीसँग मिलेर पाँचौं विकेटका लागि ७२ रनको साझेदारी गरे ।

कर्णालीको इनिङ्सी यसै साझेदारीमा टिकेको थियो । अर्जुनले २५ बलमा २५ नै रन बनाए । त्यसमा दुई चौका र एक छक्का सामेल थियो । बोसिस्टोले भने विकास आग्रीको बलमा एलबीडब्लू हुन अगाडि ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

कर्णालीका लागि ओपनर बाबर हयातले २० रन बनाए । उनले एक/एक चौका र छक्का प्रहार गरे । ओपनरका रूपमा देव खनाल फेरि एकपल्ट असफल रहे । उनको ब्याटबाट तीन रनमात्रै निस्केको थियो । चाडविक वाल्टनले पनि १३ रनमात्रै बनाउन सके ।

कप्तान सोमपाल कामीको सात रनको योगदान रह्यो । गुल्सन झा पनि आठ रनमै सीमित रहे । लुम्बिनीका बलरमध्ये विकासले १४ रनमा तीन विकेट लिए । तिलक भण्डारीले २३ रनमा दुई विकेट लिए । यस्तै रमोन सिमोन्ड्स, साद बिन जाफर र रोहित पौडेलले एक/एक विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully