लुम्बिनीसामु कर्णालीको सम्मानजनक स्कोर

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

A respectable score for Karnali against Lumbini

काठमाडौँ — लगातार चौथो जितको प्रयासमा रहेको कर्णाली याक्सले नेपाल सुपर लिग २०२४ को शुक्रबार बिहानको खेलमा पहिले ब्याटिङ गर्दै लुम्बिनी लायन्सविरुद्ध सम्मानजनक स्कोर खडा गरेको छ । कर्णालीले २० ओभरमा आठ विकेट गुमाएर १ सय २८ रन बनाएको हो ।

 उसका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । उनले अर्जुन घर्तीसँग मिलेर पाँचौ विकेटका लागि ७२ रनको साझेदारी गरे । त्यसमा अर्जुनले २५ बलमा २५ नै रन बनाए । त्यसमा दुई चौका र एक छक्का सामेल थियो ।

त्यस्तै बोसिस्टोले विकास आग्रीको बलमा एलबीडब्लू हुन अगाडि ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे । कर्णालीका लागि ओपनर बाबर हयातले २० रन बनाए । उनले एक/एक चौका र छक्का प्रहार गरे ।

ओपनरका रूपमा देव खनाल फेरि एकपल्ट असफल रहे । उनको ब्याटबाट तीन रनमात्रै निस्केको थियो । चाडविक वाल्टनले पनि १३ रनमात्रै बनाउन सके । कप्तान सोमपाल कार्मीको सात रनको योगदान रह्यो ।

गुल्सन झा पनि आठ रनमै सीमित रहे । लुम्बिनीका बलरमध्ये विकासले १४ रनमा तीन विकेट लिए । तिलक भण्डारीले २३ रनमा दुई विकेट लिए । यस्तै रमोन सिमोन्ड्स, साद बिन जाफर र रोहित पौडेलले एक/एक विकेट लिए । 

कान्तिपुर

Link copied successfully