काठमाडौँ — नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ बाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई यसबारे बिहीबार अनुमतिपत्र प्रदान गरेको हो ।
एन्फाका महासचिव किरण राईले नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांस कार्किलाई प्रतियोगिता आयोजनाका लागि अनुमति प्रदान गरे । त्यस अवसरमा महासचिव राईले नेपाल सुपर लिगले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पोखे ।
यस्तै नेपाल सुपर लिगमा प्रबन्ध निर्देशक कार्कीले प्रतियोगिताको तेस्रो संस्करण अझ बढी स्मरणीय हुने बताए । प्रतियोगिताको पहिलो संस्करण सन् २०२१ मा भएको थियो भने दोस्रो संस्करणको आयोजना सन् २०२३ मा भएको थियो ।
पहिलो संस्करण काठमाडौं रेजर्स र दोस्रो संस्करण ललितपुर सिटी एफसीले जितेको थियो ।
