काठमाडौँ — काठमाडाैं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
अघिल्लो दिन लुम्बिनी लायन्समाथि १८ रनको रोमाञ्चोक जित निकालेको गुर्खाजले आफ्नो प्लेयिङ-११ मा कुनै परिवर्तन गरेको छैन । जनकपुरले जोशुआ ट्रम्पको स्थानमा मोहम्मद मोहिसनलाई टिममा फिर्ता ल्याएको छ ।
जनकपुरले अहिलेसम्म आफूले खेलेका ५ मध्ये चार खेल जितेको छ । अघिल्लो दिन सुदूरपश्चिमसँग पराजित भएपछि टोलीले शीर्ष स्थान गुमाएको थियो । सुदूरपश्चिमसँग जनकपुर ५१ रनमै अलआउट भएको थियो, जुन एनपीएलकै न्यून स्कोर हो ।
गुर्खाजले खेलेका ४ मध्ये २ मा जित र २ खेलमा पराजय भोगी अंक तालिकामा पाँचौं स्थानमा छ । सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली एनपीएलको प्लेअफमा पुग्ने प्रावधान छ ।
