काठमाडौँ — गल्फर विष्णुप्रसाद शर्मा सूर्य नेपाल काठमाडौं ओपन गल्फको दोस्रो दिन बुधबार एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लिएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा ४ अन्डर ६४ सहित समग्रमा ७ अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले डिफेन्डिङ च्याम्पियन नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । ३ अन्डर ६५ स्कोर गरेका नीरज समग्रमा ६ अन्डर १३० सहित दोस्रोमा रहे ।
एमेच्योर गल्फर सद्भाव आचार्यले ३ अन्डर ६५ को कार्ड बनाएर समग्रमा ५ अन्डर १३१ सहित तेस्रो स्थानमा पुगेका छन् । दिनेश प्रजापतिले उत्कृष्ट स्कोर बनाए । उनी ५ अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४ अन्डर १३२ सहित चौथो स्थानमा उक्लिए ।
सुरुआती अग्रता लिएका जयराम श्रेष्ठले २ ओभर ७० को खराब प्रदर्शन गर्दा समग्रमा २ अन्डर १३४ सहित पाँचौं स्थानमा तल झरे । एमेच्योर गल्फर राहुल बिके र भेट्रान प्रो दीपक मगर समग्रमा १ अन्डर १३५ सहित संयुक्त छैटौं स्थानमा रहे । राहुलले ३ अन्डर ६५ र दीपकले १ अन्डर ६७ स्कोर गरेका थिए ।
समग्रमा १ ओभर १३७ सहित धनबहादुर थापा र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्त आठौं स्थान बाँडे । धनले ४ अन्डर ६४ र भुवनले ३ अन्डर ६५ मा दिनको खेल टुंग्याए । रवि खड्का र प्रदीप कुमार लामा समग्रमा २ ओभर १३८ सहित संयुक्त १०औं स्थानमा रहे । रविले इभन पार ६८ र प्रदीपले २ ओभर ७० मा खेल टुंग्याए ।
शीर्षस्थानमा पुग्नेक्रममा विष्णुले सानदार प्रदर्शन गरे । उनले फ्रन्टनाइनमा ५ अन्डर २९ को स्कोर बनाए । उनले पहिलो, दोस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा ५ पारको चौथो होलमा इगलको सफलता पाए । यसपछि १० औं होलको बोगीले उनी ब्याकनाइन १ ओभर ३५ स्कोर सफल भए ।
डिफेन्डिङ च्याम्पियन नीरजले पहिलो होलमा इगल प्रहार गर्दै दिनको सुरुआत गरे । दोस्रो र छैटौं होलमा एक–एक शट खेर फाले । पाँचौं होलको बर्डीले फ्रन्टनाइन १ अन्डर ३३ मा पूरा गरे । यसपछि १० औं होलमा बोगी सामना गरे । १३ औं होलमा इगल प्रहार गर्दा १७ औं होलमा एक शट बचाए । उनले ब्याकनाइन २ अन्डर ३२ मा पूरा गरे ।
नम्बर वान एमेच्योर गल्फर सद्भावले फ्रन्टनाइन २ अन्डर ३२ र ब्याकनाइन १ अन्डर ३३ मा सके । उनले पहिलो, चौथो, पाँचौं, आठौं र १७ औं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । दोस्रो र सातौं होलमा शट खेर फाले । यो स्कोरले सद्भाव एमेच्योरतर्फ शीर्षमा छन् । उनले राहुललाई चार स्ट्रोकले पछि पारेका छन् ।
दिनको उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा दिनेशले बोगीरहित खेले । फ्रन्टनाइनमा ४ अन्डर ३० र ब्याकनाइनमा १ अन्डर ३३ को स्कोर गरे । पहिलो, दोस्रो, चौथो, आठौं र दसौं होलमा बर्डीको सफलता पाए ।
३८ होल समाप्तिमा १३ ओभर १४९ सम्म स्कोर गर्ने २२ प्रो र ६ एमेच्योर गल्फरले कट बनाए । प्रोतर्फ रामे मगर, वसन्तराज गुरुङ, तोरणविक्रम शाही, रमेश अधिकारी, सञ्जय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाईले कट बनाए । एमेच्योरतर्फ बलराम पौडेल, कवि थापा, हरिबहादुर थापा र ज्ञानबहादुर ढेंगेले अन्तिम ३६ होलको लागि स्थान बनाएका छन् ।
