काठमाडौँ — वेस्ट ह्यामले खराब लयबाट गुज्रिरहेको उल्भ्सलाई सोमबार २–१ ले पराजित गरेको छ । यो जितले प्रशिक्षक जुलेन लापेटगुइ र टिम स्वंयलाई धेरै राहत दिनेछ । हारले ग्यारी ओ’नेलको उल्भ्स भने थप संकटमा परेको छ ।
आफ्नो घरेलु मैदानमा प्राप्त यो नतिजापछि वेस्ट ह्याम १५ खेलबाट १८ अंकसहित १४ औं स्थानमा उक्लेको छ । यो रेलिगेसन क्षेत्रबाट नौ अंक अगाडि हो । उल्भ्स भने समान खेलबाट नौ अंकमै सीमित रहेर पुछारबाट दोस्रो स्थानमा रह्यो ।
लन्डन स्टेडियममा वेस्ट ह्यामका लागि टोमस सोसेक र जारोड बोवेले एक एक गोल गरे । उल्भ्सका तर्फबाट म्याट दोहर्टीले एक गोल फर्काए । उल्भ्सको यो लगातार तेस्रो हार हो र उसमाथि रेलिगेसनमा पर्ने दबाब चर्को छ ।
यस्तै स्पेनी ला लिगामा सोमबार गेटाफेले इस्पनयोगलाई १–० ले हरायो । खेलको एक मात्र गोल अल्भारो रोड्रिग्वेजले आठौं मिनेटमा गरे । गेटाफे १६ अंकमा १५ औं स्थानमा छ । इस्पनयोल भने १३ अंकमा १८ औं स्थानमा रहेको छ ।
