काठमाडौँ — जयराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको मंगलबार ४ अन्डर ६४ सहित अग्रता बनाएका छन् । उनले विष्णुप्रसाद शर्मा र नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा सुरु सूर्य नेपाल गल्फ टुर सिजनको प्रतियोगितामा विष्णु र नीरजले ३ अन्डर ६५ सहित दोस्रो स्थानमा ओटगेका छन् । एमेच्योरका नम्बर एक गल्फर सद्भाव आचार्य २ अन्डर ६६ सहित चौथो स्थानमा रहे । इभन–पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीपकुमार लामा पाँचौं स्थान छन् । रमेश अधिकारी र दिनेश प्रजापतिले १ ओभर ६९ को स्कोर निकाले । उनीहरू सातौं स्थान रहे ।
२ ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजबाहक, रवि खड्का, वसन्तराज गुरुङ तथा एमेच्योरद्वय ज्ञानबहादुर ढेंगा र राहुल बिके संयुक्त नवौं स्थानमा छन् ।
घरेलु क्लबका प्रो जयरामले बोगीरहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्टनाइन र ब्याकनाइन दुवै २ अन्डर ३२ मा सके । उनले चौथो, आठौं, दसौं र १२ औं होलमा बर्डी प्रहार गरे ।
विष्णुले पहिलो र सातौं होलमा एक–एक शट बचाएर फ्रन्टनाइन २ अन्डर ३२ मा सके । ११ औं होलको बोगीविरुद्ध १२ र १३ औं होलको दुई बर्डीले ब्याकनाइन १ अन्डर ३३ मा पूरा गरेका थिए ।
डिफेन्डिङ च्याम्पियन नीरजले दोस्रो होलमा बोगी प्रहार गरे पनि चौथो र पाँचौं होलको बर्डीले फ्रन्टनाइन १ अन्डर ३३ खेले ।
एमेच्योर गल्फर सद्भावले सुरुआत राम्रो गर्न सकेनन् । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा एक–एक शट खेर फाले । फ्रन्टनाइन २ ओभर ३६ मा पूरा गरे । तर ब्याकनाइनमा उत्कृष्ट कमब्याक गरे ।
७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरको सहभागिता छ । विजेताले १ लाख ५० हजार, दोस्रोले ८५ हजार र तेस्रोले ६८ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
