दाबेदार सूचीमा उक्लँदै चेल्सी

मंसिर २५, २०८१

एएफपी

Chelsea climbing up the contenders list

लन्डन — चेल्सीका प्रशिक्षक एन्जो मारेस्का चाहन्छन्, आफ्नो युवा टिमलाई धेरै दबाब दिनुहुन्न । तर यति भन्दाभन्दै पनि चेल्सी इंग्लिस प्रिमियर लिगको उपाधिका लागि बलियो दाबेदार बनेको छ । यो तथ्य स्वीकार्नुपर्छ । ‘द ब्लुज’ ले आइतबार मात्रै टोटनहमलाई उसकै घरमा ४–३ ले पराजित गर्‍यो ।

नतिजा अब चेल्सी र लिग तालिकाको शीर्षमा रहेको लिभरपुलबीचको दूरी ४ अंकमा छोट्टिएको छ । ठीक यही बेला आर्सनल भने फुलहमको हातबाट बराबरीमा रोकिएको छ । 

टोटनहमका लागि भने खराब स्थिति बनेको छ । यसले प्रशिक्षक एन्गे पोस्टेग्लुमाथि चर्को दबाब बनेको छ । टोटनहम भने म्यानचेस्टर युनाइटेडभन्दा एकै अंकले मात्र अगाडि छ । टोली ११ औं स्थानमा छ । युनाइटेड आफैं पनि राम्रो प्रदर्शनका लागि संघर्षरत रहेको छ । फेरि चेल्सीमै फर्कने हो भने मारेस्काले यो टिमलाई चाँडै एउटा बलियो शक्तिका रूपमा परिवर्तन गरेका छन् । भलै, उनले स्टामफोर्ड ब्रिजको जिम्मेवारी सम्हालेको पनि धेरै भएको छैन । 

गत साता मात्रै उनले चेल्सीको भविष्य निकै राम्रो छ भनेर दाबी गरेका थिए । सन् २०२१ यता चेल्सीले कुनै पनि उपाधि जितेको छैन, तर यसबीच उत्तिकै धेरै लगानी गरेको छ । यही ठूलो लगानीका कारण चेल्सी टिम आफैंमा भित्र–भित्रबाट बलियो बनेको छ । अबको केही सिजनमा यसले इंग्लिस फुटबलमै आधिपत्य जमाउने छ । टोटनहमविरुद्ध २ गोलले पछाडि रहेर खेल जितेपछि प्रशिक्षक मारेस्काको भनाइ थियो, ‘हामी खुसी छौं, किनभने हाम्रा समर्थक खुसी छन् ।’ 

उनी थप्छन्, ‘हाम्रा समर्थकले सपना देखे हुन्छ । तर म फेरि के स्पष्ट बनाउन चाहन्छु भने हामी उपाधिकै लागि तयार भइसकेका छैनौं, भित्रबाट र बाहिरबाट पनि । मैले यही धारण धेरैपल्ट भनिसकें । तर एउटा तथ्य भने निश्चित छ, हाम्रो टिममा व्यापक सुधार आएको छ, प्रत्येक दिन ।’ प्रिमियर लिगमा लगातार ४ खेलको जितपछि चेल्सी लगभग लिभरपुल नजिक पुगेको हो । यही टिमसँग अनुकूल स्थितिबाट खेल गुमाउन टोटनहम समर्थकका लागि पीडादायी नै छ । 

कमजोर युनाइटेड संकटमा

टोटनहम त्यही टिम थियो, जसले इतिहादमा म्यानचेस्टर सिटीलाई एकपक्षीय ढंगले हराएको थियो । टोटनहम आफैंले भने आफ्ना समर्थक प्रशिक्षक पोस्टेग्लुको साथमा रहेका छन् भनेर भनिरहनुपरेको छ । यस्तै खराब स्थिति युनाइटेडको पनि छ, सायद अझ धेरै खराब । नयाँ प्रशिक्षक रुबेन एमोरिमका लागि अहिले नै खराब दिन सुरु भइसकेको छभन्दा केही फरक पर्दैन । गत महिना मात्रै उनी ओल्ड ट्राफोर्डमा आएका थिए । 

यही छोटो समयमै उनले राम्रोसँग बुझिसकेका छन्, उनीसामु कति धेरै गाह्रो र चुनौतीपूर्ण दिन छ भनेर । स्पोर्टिङ लिस्वनका प्रशिक्षकले भनेका थिए, चाँडै आँधीबेरी आउने छ । तर, उनले यति धेरै त्यही आँधीबेरी आउने छ भनेर सोचेका भने थिएनन् । मध्यसाता युनाइटेड आर्सनलसँग २–० ले पराजित रह्यो । लगत्तै घरमै नटिङ्घम फरेस्टसँग खेल ३–२ ले गुमाएको थियो । यस हारमा सबैभन्दा ठूलो जिम्मेवार त युनाइटेडको कमजोर रक्षापंक्ति रह्यो । 

कीर्तिमान २० पल्टको लिग च्याम्पियन अहिले अंकतालिकाको १३ औं स्थानमा छ, टोलीसँग १९ अंक छ । सन् १९८६–८७ को सिजनयता यो सबैभन्दा खराब स्थिति हो, यदि सुरुआती १५ खेल आधार मान्ने हो भने । प्रशिक्षक एमोरिमले आफ्ना खेलाडी र समर्थकलाई संयमित हुन अनुरोध गरेका छन् । आफूलाई विश्वास गर्न पनि भनेका छन् । उनको भनाइ छ, युनाइटेडसामु लामो यात्रा तय गर्नुपर्ने बाटो छ । क्लबभित्र पनि सबथोक राम्रो भने छैन । 

आइतबार मात्रै क्लबले के घोषणा गरेको छ भने स्पोर्टिङ डाइरेक्टर डन एसवर्थले टिम छाडेका छन् । उनी ओल्ड ट्राफोर्ड आएको पनि पाँच महिना मात्र भएको थियो । स्पष्ट छ, युनाइटेडभित्र पनि केही ठीक चलिरहेको छैन । सम्भवतः शक्तिको संघर्ष चलिरहेको हुनसक्छ । अथवा क्लबभित्र कुनै ठूलै मतभेद रहेको हुनसक्छ । अबको केही सातामा युनाइटेडले आफ्ना दुई ठूला प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र लिभरपुलको सामना गर्नेछ । 

घरमा बलियो ब्रेन्टफोर्ड

यी दुई टिमविरुद्धको खेल यस्तो हुनेछ, जहाँ युनाइटेडको साख र प्रतिष्ठा दुवै दाउमा रहनेछ । जिते सबथोक पाइनेछ, हार सबथोक गुमाउने डर । यही बेला लन्डनको एउटा अर्को क्लब भने गजबले फरक लयमा छ । यो सिजन ब्रेन्टफोर्डको एउटा ठूलो विशेषता अगाडि आएको छ । यसमा क्लबलाई न रुन सक्ने स्थिति हुनेछ न त हाँस्ने । घरबाहिर खेल्दा ब्रेन्टफोर्ड जत्तिको कमजोर टिम अरू कुनै देखिन्न । फेरि घरमा खेल्नुपर्छ, यो जत्तिको बलियो अर्को टिम देखिन्न । 

थोमस फ्रान्कको टिमले पछिल्लो खेलमा न्युकासल युनाइटेडलाई ४–२ ले हराएको थियो । घरमा खेलका ८ खेलमध्ये यो सातौं जित थियो । एक अर्को खेल भने बराबरीमा टुंगिएको थियो । अझ घरमा भएका खेलमध्ये चार अवसरमा ब्रेन्टफोर्ड ४ वा त्यो भन्दा बढी गोल गरेको छ । यो सिजन चेल्सीपछि सबैभन्दा बढी गोल गर्ने दोस्रो टिम ब्रेन्टफोर्ड नै हो । फ्रान्क भन्छन्, ‘यो सिजन लिगमा हामीले जसरी गोल गरिरहेका छौं, यसले देखाउँछ हाम्रो टिम साँच्चै कस्तो छ भनेर ।’ 

ब्रेन्टफोर्ड २३ अंकसहित नवौं स्थानमा छ । घरबाहिर भने यो टिम फेरि निकै खराब छ । त्यसैले त यस्ता ७ खेलमध्ये ब्रेन्टफोर्ड ६ मा पराजित रहेको छ भने एक बराबरीमा टुंगेको छ । घरबाहिर खेल्नुपर्छ, किन हो ब्रेन्टफोर्ड असाध्यै धेरै कमजोर देखिन्छ । तर यति भन्दाभन्दै घरबाहिरको प्रदर्शनको सुधार्ने र घरभित्र अझ मजबुत हो भने जस्तै सम्भावना कायम हुनसक्छ । ठूला टिमको खराब लयका कारण ब्रेन्टफोर्डले अब युरोपबारे पक्कै सपना बुन्न सक्छ ।

एएफपी

Link copied successfully