चौथो खेलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार
काठमाडौँ — पहिलो तीन खेलमा आरामदायी जस्तो जित हात पारेको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा यतिको नजिकको प्रतिस्पर्धा भोगेको थिएन । लुम्बिनी लायन्समाथि टोलीले पाएको १ रनको विजय एनपीएलकै सबैभन्दा चर्को प्रतिस्पर्धामा पनि पर्नेछ ।
सन्दीप जोरा अन्तिम बलमा २ रन प्रहार गर्न चुकेपछि लुम्बिनी लगातार चौथो खेलमा पराजय भोग्न बाध्य भएको थियो । त्यसको ठीक विपरीत जनकपुरले लगातार चौथो खेल जितेको हो र टोलीले प्लेअफमा स्थान लगभग पक्का गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरको जितको कथा रोमाञ्चले भरिपूर्ण रहयो भने लुम्बिनीका लागि हृदयविदारकजस्तै ।
लुम्बिनीलाई अन्तिम दुई ओभरमा विजयका लागि २३ रनको आवश्यकता थियो । १९ औं ओभरमा लुम्बिनीले १४ रन जोडेको थियो, त्यसमध्ये १३ रन जोराका नाममा थियो । अन्तिम ओभरको पहिलो बलमै हर्ष ठाकरले साद बिन जाफरलाई शून्यमा आउट गरे । दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे । तेस्रो बलमा कुनै रन बनाउन नसकेका दुर्गेशले चौथो बलमा १ रन लिए ।
पाँचौं बलमा २ रन लिने प्रयासमा जोरा मुस्किलले रनआउट हुनबाट जोगिएका थिए । अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन चाहिन्थ्यो भने १ रनले स्कोर बराबर हुन्थ्यो । तर जोराले ठाकरको बल पुल गर्न खोज्दा टप एज लागेर स्क्वायर लेगमा किशोर महतोलाई क्याच दिन पुगेपछि जितको नजिक पुगेर लुम्बिनी चुकेको थियो ।
ओपनर आशुतोष घिरोहियाले पुनः निराश बनाए । उनी ८ रन मात्र बनाई आउट भए । अर्का ओपनर अर्जुन साउदले २३ बलमा २ चौकासहित २० रन बनाए । कप्तान रोहित पौडेलले ३८ बल खेल्दै ३ चौका प्रहार गरी ३५ रन बनाए । टम मुर्सले २३ बलमा ३१ रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरे । रोहित आउट भएसँगै लुम्बिनीको विकेट झर्ने क्रम सुरु भएको थियो ।
विवेक यादव शून्य, बेन कटिङ ३ रनमा आउट भए । ठाकेरले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १३, किशोरले ३ ओभरमा २५ र शेर मल्लले ४ ओभरमा ३३ रन खर्चेर १–१ विकेट लिए ।
यसअघि टस हारेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनायो । उत्कृष्ट सुरुआत गरेको जनकपुर प्रतियोगितामा पहिलो खेल खेलिरहेका अभिशेष गौतमको बलिङ अगाडि एकाएक पतन हुन पुगेको थियो । देब्रेहाते स्पिनर अभिशेषले एकै ओभरमा ३ विदेशी खेलाडीको विकेट लिएपछि १२ औं ओभरमा ९५–१ को अवस्थामा रहेको जनकपुर १६ औं ओभरमा ११०–७ को स्थितिमा पुगेको थियो ।
अभिशेषले १३ औं ओभरमा प्रतियोगिताका सर्वाधिक रनकर्ता लाहिरू मिलान्था, हर्ष ठाकर (१) र जिम्मी निसम (१) को विकेट लिए । दुई ओभरपछि रोहितले मोहम्मद मोहसिन (३) र शेर मल्ल (०) लाई आउट गरे । अभिशेषले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए ।
नेपाली यू–१९ टोलीका कप्तान हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंसाकारले २४ बल खेली २ चौकासहित २२ रन बनाए । अभिशेषबाहेक लुम्बिनीबाट साद बिन जाफर र रोहितले २–२ विकेट लिए । जाफरले ३ ओभरमा ११ र रोहितले ४ ओभरमा २२ रन खर्चे ।
आसिफ शेख र अनिल साहले ६ ओभरभित्र ४८ रन जोडी जनकपुरलाई राम्रो सुरुआत दिलाएका थिए । आसिफ १० बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा आउट भए । अनिलले ३९ बल खेली १ चौका र ४ छक्कासहित ४५ रन बनाए । उनलाई काम चलाउ बलर सन्दीप जोराले आउट गरेपछि लुम्बिनीको पतन सुरु भएको थियो ।
यसैगरी जनकपुरलाई नजिकबाट चुनौती दिइरहेको सुदूरपश्चिम रोयल्स आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिमको यो पहिलो हार हो । चितवनले ४ खेलमा तेस्रो विजय हात पारेको छ । सुदूरपश्चिम र चितवन समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
१ सय ६५ रनको लक्ष्य लिएर आएको सुदूरपश्चिम १८.२ ओभरमा १ सय ३१ रनमा अलआउट भयो । ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । सैफ जैब १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्वा १२, आरिफ शेख ४, कप्तान दीपेन्द्रसिंह ऐरी १, नरेश बुढाऐर ५, नरेन साउद १० रनमा आउट भए ।
आउट हुने अन्तिम खेलाडी स्कट कुग्लेनले १० बलमा ३ चौकासहित १६ रन बनाए । चितवनबाट रिजन ढकाल, कुशल मल्ल, यान निकोलस लफ्टी इटन र अमरसिंह रौउटेलाले २–२ तथा सोहेल तनवीर र रञ्जित कुमारले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले ५ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । ओपनर हसन इसाखिलले चितवनबाट सर्वाधिक ६५ रन बनाए । प्लेयर अफ द म्याच उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो पटक ओपनरको भूमिकामा पठाइएका सन्तोष कार्कीले ९ रन मात्र बनाउन सकेका थिए । विपिन रावल २० बलमा १७, कुशल १६ बलमा १३ रन बनाई आउट भए ।
भेट्रान इंग्लिस ब्याटर रवि बोपारा १८ बलमा समान २ चौका र छक्का प्रहार गरी ३६ रनमा आउट भए । रौटेला ३ बलमा ६ र लफ्टी इटन ४ बलमा २ रन बनाई अविजित रहे । सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चेका थिए । दीपेन्द्र, म्याकमुलेन र जैबले १–१ विकेट लिए ।
