भारत तीन दिनमै पराजित

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

India defeated in three days

काठमाडौँ — एडिलेड (एएफपी)– अस्ट्रेलियाले दोस्रो टेस्टमा आइतबार भारतलाई १० विकेटले हराएको छ । यससँग पाँच टेस्टको शृंखला १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ । जितका लागि अस्ट्रेलियाले १९ रनको लक्ष्य मात्रै पाएको थियो र त्यसलाई बिनाविकेटको क्षति पूरा गरेको थियो । ओपनर उस्मान ख्वाजा र नथान म्याकस्वानीले सजिलै टिमलाई लक्ष्यसम्म पुर्‍याए ।

त्यस अगाडि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ७५ रन बनाएर अलआउट भएको थियो । भारतले दिनको सुरुवात पाँच विकेट गुमाएर १ सय २८ रनबाट गरेको थियो र अन्तिम ५ विकेट ४७ रनमा गुमाउन पुग्यो । पाहुना टिमका लागि अलराउन्डर नितिश रेडीले सर्वाधिक ४२ रन बनाए । रिसभ पन्त २८ रनमा आउट भए । कप्तान प्याट कमिन्सले ५७ रनमा पाँच विकेट लिए । 

भारतले पहिलो इनिङ्समा पनि १ सय ८० रन मात्र बनाउन सकेको थियो । नितिशले पहिलो इनिङ्समा पनि भारतबाट सर्वाधिक ४२ रन नै बनाएका थिए । मिचेल स्टार्कले ६ विकेट लिँदै भारतलाई धराशायी बनाएका थिए । ट्राभिस हेडले १ सय ४० र मार्नस लाबुसेङले ६४ रन बनाएपछि अस्ट्रेलियाले पहिलो इनिङ्सका आधारमा १ सय ५७ रनको अग्रता बनाएको थियो, जुन अस्ट्रेलियाको विजयको आधार बन्यो । 

‘यो साता हामी फेरि आफ्नो उत्कृष्ट लयमा फर्केका छौं,’ अस्ट्रेलियाली कप्तान कमिन्सले भनेका छन्, ‘यो नै हाम्रो टिमको विशेषता हो । हामी यसरी नै क्रिकेट खेल्न रुचाउँछौं । आजको जितमा हामी निकै खुसी छौं । शृंखलामा एक खेलले पछाडि परेको स्थितिमा टिमबाट यस्तै प्रदर्शनको आस रहेको हुन्छ ।’

यसको ठीक विपरीत भारतीय कप्तान रोहित शर्मा भने निराश रहे । उनले भने, ‘यो टेस्टमा पनि हामीसामु खेलमा फर्कने अवसर बनेको थियो तर हामीले सदुपयोग गर्न सकेनौं । हामीले यस्तो आफ्नै टिमको प्रदर्शनबाट बनाउनुपर्ने हुन्छ । हाम्रो टिममा निकै अनुभवी खेलाडी छन् । तिनले ठूल्ठूला खेल जितेका छन् । त्यसैले सिरिजमा फर्कनका लागि हाम्रा लागि गाह्रो हुने छैन ।’ भारतले पहिलो टेस्ट जितेर ५ खेलको शृंखलामा अग्रता लिएको थियो । तेस्रो टेस्ट शनिबारबाट ब्रिसवेनमा सुरु हुनेछ ।

इंग्ल्यान्डलाई टेस्ट शृंखला

बेलिङ्टन (एएफपी)– आक्रामक इंग्ल्यान्डले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई ३ सय २३ रनको ठूलो अन्तरले हराएको छ । यससँगै इंग्ल्यान्डले तीन टेस्टको शृंखलामा २–० को निर्णायक अग्रता पनि लिएको छ । टेस्टको सुरुदेखि अन्त्यसम्म खेल इंग्ल्यान्डको नियन्त्रणमा रहेको थियो । दिनको सुरुमा इंग्ल्यान्डका लागि जोए रुटले आफ्नो शतक पूरा गरे ।

त्यसपछि न्युजिल्यान्ड तेस्रो दिन २ सय ५९ रन बनाएर आफ्नो दोस्रो इनिङ्समा अलआउट भएको थियो । सन् २००८ यता इंग्ल्यान्डले न्युजिल्यान्डमा टेस्ट शृंखला जितेको यो पहिलो पटक हो । क्राइसचर्चमा भएको पहिलो टेस्ट आठ विकेटले जितेको इंग्ल्यान्डले जितका लागि ५ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

न्युजिल्यान्डका लागि टम ब्लन्डेलले शतक बनाउँदै केही सुदृढ प्रदर्शन गरे पनि यो इंग्ल्यान्डलाई जितसम्म पुग्न बाधा रहेन । चिया सत्रलगत्तै विकेटकिपर ब्याटर ब्लन्डेल १ सय १५ रन बनाएर आउट भए । उनी सोएब बसारको बलमा स्लिपमा बेन डकेटद्वारा समातिए । यस्तै नथान स्मिथले ४२ रन बनाए र उनी बेन स्टोक्सको बलमा आउट भए ।

ह्यारी ब्रुक्स प्लेयर अफ द म्याच रहे । उनले इंग्ल्यान्डको पहिलो इनिङ्समा सानदार १ सय २३ रन बनाएका थिए र त्यसमै टिकेर इंग्ल्यान्डले जितको आधार तयार पारेको थियो । रुटले भने आफ्नो ३६ औं शतकका रूपमा १ सय ६ रन बनाए । इंग्ल्यान्डले ६ विकेट गुमाएर ४ सय २७ मा आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

कान्तिपुर

Link copied successfully