काठमाडौँ — नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले आइतबार काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा कभर्ड हलमा उसले नेपालकै गण्डकी प्रदेशलाई ३–१ सेटले हराएको हो । जितसँगै हेल्प नेपालको पाँच अंक भएको छ ।
लगातार दोस्रो खेलमा पराजित गण्डकीको एक अंक मात्रै रहेको छ । हेल्प नेपालले सुरुआती दुई सेट २५–१५ र २५–२३ ले जितेको थियो । त्यसपछि तेस्रो सेट गण्डकीका नाममा रह्यो र यसमा उसलाई २५–२३ को निर्णायक अग्रता प्राप्त भएको थियो । चौथो सेट निर्णायक रह्यो र त्यसमा हेल्प नेपाल सजिलै २५–१६ ले विजयी रह्यो ।
उसले आफ्नो पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई हराएको थियो । आइतबारकै अर्को खेलमा इरान यू–१८ टिमले विजयी सुरुवात लिएको छ । उसले माल्दिभ्सको एचडीसीलाई ३–२ ले पराजित गर्यो । यससँगै इरानी टिमले दुई अंक जोडेको छ भने एक अंक एचडीसीका नाममा रह्यो । एचडीसीको दुई खेलबाट तीन अंक भएको छ ।
इरानी युवा टिमले पहिलो सेट २५–१६ ले जितेको थियो । त्यसपछिका दुई सेट माल्दिभ्सको टिममा रह्यो । त्यसमा एचडीसी २५–२२ र २५–२३ ले विजयी रह्यो । त्यसपछि इरान लगातार दुई सेटमा विजयी रह्यो । चौथो सेट २५–२० ले जितेपछि इरानले अन्तिम, पाँचौं तथा निर्णायक सेट १५–१३ ले आफ्नो पक्षमा पारेको थियो ।
