इंग्ल्यान्डलाई न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Test series for England against New Zealand

काठमाडौँ — इंग्ल्यान्डले एक खेल अगाडि नै न्युजिल्यान्डविरुद्धको तीन टेस्टको सिरिज जितेको छ । इंग्ल्यान्डले आइतबार वेलिङ्टनमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डलाई ३ सय २३ रनको ठूलो अन्तरले पराजित गर्‍यो । यससँगै पाहुना टिम २–० ले अगाडि रह्यो ।

जितका लागि ५ सय ८३ रनको लक्ष्य पाएको न्युजिल्यान्ड तेस्रो दिन आफ्नो दोस्रो इनिङ्समा २ सय ५९ र बनाएर अलआउट भयो । त्यसमा टम ब्लनडेलले शतक बनाए पनि त्यो पर्याप्त रहेन् । उनले १ सय १५ रन बनाए र त्यसमा १३ चौका तथा पाँच छक्का सामेल थियो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले पाँच रनमै तीन विकेट लिए । त्यस अगाडि इंग्ल्यान्डले ६ विकेट गुमाएर ४ सय २७ मा आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । त्यस अगाडि इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ८० रन बनाएको थियो ।

जवाफमा न्युजिल्यान्ड १ सय २५ रनमा अलआउट भएको थियो । यससँगै इंग्ल्यान्डको जितको आधार तयार भएको थियो । इंग्ल्यान्डका लागि १ सय २३ र ५५ रन बनाउने ह्यारी ब्रुक्स ‘प्लेयर अफ द म्याच’ रहे । अब तेस्रो तथा अन्तिम टेस्ट ह्यामपल्टनमा शनिबारबाट सुरु हुनेछ । 

कान्तिपुर

Link copied successfully