अस्ट्रेलियाको दोस्रो टेस्टमा जितसँगै सिरिज बराबरीमा

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Series tied with Australia's win in the second Test

काठमाडौँ — अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो टेस्ट आइतबार तेस्रो दिन दस विकेटले जितेको छ । एडिलेडमा जितका लागि १९ रनको लक्ष्य पाएको अस्ट्रेलियाले बिना कुनै विकेटको क्षति त्यसलाई हात पारेको हो । यस नतिजासँगै पाँच टेस्टको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

घरेलु टिमका लागि ओपनरद्वय नथान म्याकस्वानीले १० र उस्मान ख्वाजाले ९ रन बनाए । यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ७५ रन बनाएर अलआउट भएको थियो । त्यसमा निशित रेड्डीको ४२ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले ५७ रनमा पाँच विकेट लिए । त्यस्तै मिचेल स्टार्कले दुई तथा स्कट बोलान्डले तीन विकेट लिए । भारतले दोस्रो दिनको सुरुआत पाँच विकेट गुमाएर १ सय २८ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र पूरा टिम लामो समय टिक्न सकेन ।

त्यस अगाडि भारतले पहिलो इनिङ्समा १ सय ८० रन बनाएको थियो । त्यसको जवाफमा अस्ट्रेलियाले ट्रेभिस हेडको शतकको मद्दतमा ३ सय ३७ रन जोडेको थियो । अब तेस्रो टेस्ट ब्रिसबेनमा शनिबारबाट सुरु हुनेछ । 

कान्तिपुर

Link copied successfully