काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरलाई पहिला ब्याटिङका लागि बोलाएको हो ।
निकै खराब सुरुआत गरेको लुम्बिनीले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । पहिलो तीनै खेलमा पराजित लुम्बिनीले अघिल्लो खेल खेलेको टोलीबाट सूर्य तामाङ, दीनेश अधिकारी र उनमुक्त चन्दको स्थानमा आशुतोष घिरोहिया, अभिशेष गौतम र बन कटिङलाई खेलाएको छ ।
अभिशेषको प्रतियोगितामा यो पहिलो खेल हो । लुम्बिनीको पहिलो खेल खेलेका अस्ट्रेलियन अलराउन्डर कटिङलाई त्यसपछिको दुई खेलमा खेलाइएको थिएन । तर उनले यो प्रतियोगितामा बलिङ गरिरहेका छैनन् ।
पहिलो तीनै खेल जितेर जनकपुर दोस्रो स्थानमा रहेको छ । जनकपुरले तुलबहादुर थापाको स्थानमा शेर मल्ललाई खेलाएको छ ।
