सुदूरपश्चिमको बलियो दाबेदारी

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट चार खेल खेलेर फर्किने भए भारतीय स्टार शिखर धवन

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

A strong claim to the Far West

काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो विजय हात पार्ने दोस्रो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान शनिबार रोयल्सले लुम्बिनी लायन्सलाई४५ रनले पराजित गरी लगातार तेस्रो जितसहित बलियो दाबेदारी पेस गरेको छ । 

लगातार तीन खेल जितेको जनकपुर बोल्ट्सलाई रनरेटमा उछिन्दै रोयल्स शीर्षस्थानमा उक्लेको हो । त्यस विपरीत राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले लगातार तेस्रो खेलमा हार बेहोरेको हो । यसले लुम्बिनीलाई प्लेअफको यात्रा कठिन बनेको छ ।

१ सय ८८ रनको लक्ष्य पाएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाई १ सय ४२ रनमात्र बनाउन सक्यो । स्कट कुग्लेनले इनिङ्सको पहिलो बलमै अर्जुन साउदलाई एलबीडब्लू आउट गरेपछि लुम्बिनी सम्हालिन सकेन । न्युजिल्यान्डका तीव्र गतिका बलर उनले अर्का ओपनर उन्मुक्त चन्दलाई पनि ४ रनमा एलबीडब्लू आउट गरे ।

अर्का विदेशी बलर स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले रोहित (५), टम मुर्स (७) र साद बिन जाफर (०) लाई आउट गरेपछि लुम्बिनी ५ ओभरभित्र १९–५ को स्थितिमा पुग्यो । सन्दीप जोराले २६ बल खेल्दै १ छक्कासहित २० रन बनाए । दिनेश अधिकारी १४, सूर्य तामाङ ७ रन र रामोन सिमान्ड्स शून्यमा आउट भए ।

विवेक यादव ७७ रन बनाई अविजित रहे । ५४ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे । लुम्बिनीबाट सैफ जैब र म्याकमुलेनले ३–३ विकेट लिए । जैबले ४ ओभरमा ३३ र म्याकमुलेनले ४ ओभरमा २१ रन खर्चे । कुग्लेनले ४ ओभरमा १९ रन खर्चेर २ र अविनाश बोहराले १ विकेट लिए ।

यसअघि ओपनर जैबले बिहानको कठिन कन्डिसनमा पनि सानदार ब्याटिङ गर्दै ९० रन बनाएपछि टस हारेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाई १ सय ८७ रन बनायो । इंग्लिस ब्याटर जैबले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । १८ औं ओभरमा आउट भएका उनले विनोद भण्डारीसँग पहिलो विकेटमा ६.३ ओभरमा ४९, दोस्रो विकेटमा म्याकमुलनेसँग ४३ बलमा ५७ र कप्तान दीपेन्द्रसिंह ऐरीसँग २४ बलमा ५३ रनको साझेदारी गरे ।

विनोदले १३ बल खेल्दै २ चौकासहित १७, म्याकमुलेनले २० बलमा समान १ चौका र छक्कासहित २३ रन बनाए । दीपेन्द्र १९ बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । आरिफ शेख आफूले सामना गरेको पहिलो बलमै आउट भए । लुम्बिनीबाट सिमोन्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २, रोहित र विवेकले १–१ विकेट लिए । 

कर्णाली भाग्यमानी

कर्णाली याक्सले ‘लो स्कोरिङ’ खेलमा विराटनगर किंग्सलाई ७ रनले हरायो । १ सय ३४ रनको लक्ष्य पाएको विराटनगरले ८ विकेट गुमाई १ सय २६ रन बनायो । अन्तिम ओभरमा जित पाउन विराटनगरलाई १५ रन आवश्यक थियो । तर, नन्दन यादवले ७ रनमात्र दिएर कर्णालीलाई जित दिलाए । 

नन्दनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । देव्रेहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २० रन खर्चेर २, कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले १–१ विकेट लिए । कर्णालीबाट निकोलस कृतनले सर्वाधिक ४० रन बनाए ।

क्यानडाका कप्तान कृतनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर लोकेश बमले ९ बला १ चौका र २ छक्कासहित १९ र दीपक बोहराले १३ बलमा १ छक्कासहित १८ रन बनाए । मार्टिन गप्टिल ४, अकिब इल्यास ८, नरेन भट्ट ७, बसिर अहमद ८, क्रिस सोल ५ रनमा आउट भए । प्रतिश जिसी ७ र कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

प्रतिशले सनसनी अन्तिम ओभर फालेपछि विराटनगरले कर्णालीलाई १ सय ३३ रनमा अलआउट गरेको हो । प्रतिशले अन्तिम ओभरमा विना कुनै रन नखर्ची ३ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको कर्णाली पूरा २० ओभर खेल्दै अलआउट भयो । प्रतिशले अन्तिम ओभरमा जिसन मक्सुदलाई २ तथा नन्दन र विपिनलाई शून्यमा आउट गरे भने युनिश रनआउट भए । 

प्रतिश भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलमा आउट गर्ने पहिलो नेपाली खेलाडी पनि बने । उनले धवनलाई ५ रनमै बोल्ड गरे । प्रतिशले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चे । प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलिरहेका धवनले काठमान्डु गुर्खाजविरुद्ध अविजित अर्धशतक बनाए भने अन्य दुई खेलमा विदेशी खेलाडीबाट आउट भएका थिए ।

कर्णालीका अर्का विदेशी खेलाडी चाडविक वाल्टनलाई १ रनमा सोलले आउट गरेपछि विलियम बोसिस्टो र देव खनालले तेस्रो विकेटमा ७९ बलमा १ सय २ रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । कर्णाली यहाँसम्म पुग्नुमा विराटनगर आफैं दोषी थियो । प्रतिशको बलमा सुवास भण्डारीले देवको क्याच छाड्न पुगे, जतिखेर देव २ रनमा खेलिरहेका थिए ।

देवले ४८ बलमा ५३ रन र बोसिस्टोले ४९ बलमा ६६ रन बनाए । देवले ४ चौका र २ छक्का तथा १९ औं ओभरमा आउट भएका बोसिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे । बसिरले लगातार बलमा देव र गुलशन झा (०) लाई आउट गरे । इल्यासले अर्जुन घर्तीलाई १ रनमा आउट गरे । कर्णालीले अन्तिममा ५ विकेट कुनै रनविना गुमाएको थियो । 

फर्किने भए धवन

भारतीय स्टार धवनले चार खेल खेलेर एनपीएल यात्रा टुंग्याएका छन् । उनले कर्णाली याक्सबाट ४ खेल खेल्ने सहमति गरी काठमाडौं आएका थिए । एनपीएलले आफ्नो सामाजिक सञ्जालबाट धवनलाई धन्यबाद दिएको छ । अब उनले भारतको सुरतमा डिसेम्बर १२ देखि हुने एक भेट्रान प्रतियोगितामा खेल्नेछन् ।

धवनलाई उतारेको कर्णालीले ४ मध्ये २ खेल जितेको छ भने २ मा हारेको छ । जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा धवन १४ रन बनाई क्यानेडियन बलर हर्ष ठाकेरको बलमा बोल्ड भए । काठमान्डु गुर्खाजविरुद्ध उनले ५१ बलमा ४ चौका र ५ छक्कासहित अविजित ७२ रन बनाएका थिए ।

चितवन राइनोजविरुद्ध ४१ बलमा ४५ रन बनाएका उनलाई नामिबियाका बलर लफ्टी इटनले कट एन्ड बोल्ड गरेका थिए । धवनले ४ खेलमा १२२.५२ को स्ट्राइक रेटमा १ सय ३६ रन बनाए ।

शनिबारसम्म उनी सर्वाधिक रन बनाउने एनपीएल सुचीमा रोहित पौडेल (१४६), लाहिरू मिलान्था (१४४) र दीपेन्द्रसिंह ऐरी (१३९) भन्दा मात्र पछाडि छन् ।

कान्तिपुर

Link copied successfully