कर्णाली र पोखरालाई जितको स्वाद

कप्तान रोहित पौडेलको ९५ रनले लुम्बिनी लायन्स जोगिएन, चितवन राइनोजविरुद्ध कर्णाली याक्सको संघर्षपूर्ण जित

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Karnali and Pokhara taste victory

काठमाडौँ — पोखरा एभेन्जर्स र कर्णाली याक्स दुवैले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेका छन् । शुक्रबार पोखराले लुम्बिनी लायन्सलाई १० विकेट र कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेका थिए ।

पोखरा र कर्णाली दुवैले तेस्रो खेलमा आएर पहिलो जित निकालेका हुन् । यसको अर्थ एनपीएलमा विजयको स्वाद नचाख्ने टोली अब लुम्बिनीमात्र भएको छ । कर्णालीसँग चितवनको पराजयपछि अब प्रतियोगिताको अपराजित टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्समात्र छन् । पहिलो दुई खेल जितेको चितवनले तेस्रो खेलमा पराजय भोगेको हो । 

१० विकेटको दुर्लभ जित

आन्द्रिज गाउसले शतक बनाउँदै दिनेश खरेलसँग कीर्तिमानी साझेदारी गरेपछि पोखराले १० विकेटको दुर्लभ जित निकालेको थियो । पोखराले १ सय ७१ रनको लक्ष्य १६.५ ओभरमा १ सय ७६ रन बनाएर पूरा गर्‍यो । जारी एनपीएलमा बनेको यो सबैभन्दा ठूलो साझेदारी पनि हो । गाउसले ५५ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गर्दै अविजित १ सय ४ रन बनाए ।

उनले कीर्तिपुरस्थित त्रिवि मैदानमा २० बलमा अर्धशतक र ५४ बलमा आफ्नो शतक पूरा गरेका थिए । दिनेशले ४६ बलमा अविजित ६१ रन बनाए । उनले स्कोर बराबरी भएको समयमा सूर्य तामाङको बलमा छक्का प्रहार गरेर खेल जिताए । दिनेशले समान ४ चौका र छक्का प्रहार गरे । न्युजिल्यान्डमा बसोबास गर्दै आएका उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए । 

Karnali and Pokhara taste victory

पहिलो दुई ओभरमै २९ रन जोडेर पोखराले तीव्र गतिमा सुरुआत गरेको थियो । पावर प्लेमै ८० रन जोडेपछि पोखराका लागि जित सहज बनिसकेको थियो । पावर प्लेमा एनपीएलमा बनेको यो सबैभन्दा बढी रन थियो । पोखराले १ सय रन ८.१ ओभरमा र १ सय ५० रन १४.३ ओभरमा जोडेर विजयलाई केवल औपचारिकता बनाएको थियो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन बनाए । इनिङ्सको अन्तिम बलमा विवेक यादवले २ रन पूरा गरिसकेपछि तेस्रो रन लिन दौडिँदा रोहित रनआउट हुनपुगे । रोहितले १० चौका र ४ छक्का प्रहार गरे । रोहित र टर्म मुर्सले ७७ बलमा १ सय १० रनको साझेदारी गरेका थिए । १९ औं ओभरको अन्तिम बलमा रनआउट भएका मुर्सले ३८ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरी ४५ रन बनाए । 

लुम्बिनीका ओपनिङ जोडी आशुतोष घिरोहिया र उन्मुक्त चन्द दुवै शून्यमा आउट भएका थिए । दुवैलाई विपिन खत्रीले आउट गरे । सन्दीप जोराले १५ बलमा १८ रन बनाए । नयाँ बल लिएर आएका विपिनले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका हुन् । अर्को विकेट म्याट क्रिच्लेले लिए । 

कर्णालीलाई राहत 

विदेशी खेलाडीद्वय शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णाली याक्स विजय नजिक पुगेको थियो । तर कर्णालीको विजय सहज रहेन । विशेष गरी पाकिस्तानी बलर सोहेल तनवीरले १९ औं ओभरमा २ रनमात्र दिएपछि कर्णालीलाई अन्तिम ओभरमा विजयनिम्ति ९ रन चाहिन्थ्यो ।

अर्जुन घर्तीले रिजन ढकालको पहिलो तीन बलमा २–२ गरेर ६ रन जोडे । चौथो बलमा उनी ११ रनमा रनआउट भए । अन्तिम २ बलमा ३ रन चाहिने अवस्थामा जिसन मक्सुदले चौका प्रहार गरी कर्णालीलाई जिताए ।

धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि याक्सले १ सय ३१ रनको लक्ष्य १ बलअगाडि पूरा गरेको हो । ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलस लफ्टी इटोनले कट एन्ड बोल्ड गरे । वाल्टनले ३ छक्का प्रहार गरे । धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरभित्र ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए ।

Karnali and Pokhara taste victory

यसअघि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीलाई १८ औं ओभरमा लगातार दुई चौका प्रहार गरी उनले आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले कुल ७ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका अर्का भेट्रान शरद भेषावकर ३ बलमा ६ रन बनाई अविजित रहे ।

सोमपालले इनिङ्सको पहिलो बलमा लुक बेन्केन्स्टेनलाई शून्यमा बोल्ड गरेका थिए । दीपक बोहरा ८ र विपिन रावल ११ रनमा आउट भए । बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटमा ४९ बलमा ६० रन जोडेका थिए । मल्लले २७ बल खेल्दै २ चौका र १ छक्कासहित २३ रन बनाए ।

देव्रहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २१ रनमात्र खर्चेर ३ विकेट लिए । उनले १७ औं ओभरमा लफ्टी इटोन (९) र सोहेल तनवीर (०) लाई आउट गरेका थिए । १९ औं ओभरमा उनले अमरसिंह राउटेलालाई ९ रनमा बोल्ड गरे । जिसन मक्सुदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका थिए । 

कान्तिपुर

Link copied successfully