पोखरा एभेन्जर्सको १० विकेटको कीर्तिमानी जित
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो शतक अमेरिकी ब्याटरबाट सम्भव भएको छ । यो शतक प्रतियोगिताको छैटौं दिन शुक्रबार पोखरा एभेन्जर्सबाट खेलेका आन्द्रिज गाउसको नाममा रह्यो ।
अमेरिकी गाउसले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका हुन् । दक्षिण अफ्रिकामा जन्मिएका उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अविजित १०४ रनको इनिङ्स खेले । त्यसका लागि उनले मात्र ५५ बल सामना गरेका थिए । उनको शतकमा एभेन्जर्सले स्मरणीय जित हासिल गरेको थियो ।
जनकपुर बोल्ट्सका लाहिरू मालिन्थाले एनपीएलमा पहिलो दिन विराटनगर किंग्सविरुद्ध अविजित ७५ रन बनाएका थिए । विकेट कन्डिसन हेर्दा थप व्यक्तिगत उच्च स्कोर हुने सम्भावना कठिन देखिन्थ्यो । शुक्रबार बिहानकै खेल हेर्ने हो भने चितवन राइनोजले १३० रनमात्र बनाउन सकेको थियो ।
दिनको दोस्रो खेलमा कहानी भने ठ्याक्कै अर्कै भयो । लुम्बिनी लायन्सबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल पनि शतक नजिक पुगेर रोकिएका थिए । रोहित ९५ रन बनाएर इनिङ्सको अन्तिम बलमा आउट भए । यसले पनि जवाफी इनिङमा एभेन्जर्सका गाउसलाई ठूलो स्कोर बनाउन जोस भरेको थियो ।
‘मैले टी–२० मा शतक नहानेको धेरै भइसकेको थियो, यसले मलाई राहत दिएको छ । केही पटक ९० को स्कोरमा पुगेको थिएँ । कुनै विकेट नगुमाई जितेको खेलमा शतक बनाउनु विशेष नै हुन्छ,’ गाउसले खेलपछि भने । उनको शतकपछि पोखरा एभेन्जर्सले १७१ रनको लक्ष्य १७ ओभरभित्र पूरा गरेको थियो । १७६ रन बनेको इनिङ्समा उनले दिनेश खरेलसँग १७६ रनको साझेदारी गर्दै पोखरालाई कीर्तिमानी १० विकेटको जित दिलाएका थिए ।
दिनेशले पनि राम्रो ब्याटिङ गर्दा आफूलाई सहयोग भएको गाउसले सुनाए । रोहितले सधैंजस्तो उत्कृष्ट ब्याटिङ गरेको उनको बुझाइ रह्यो । यसै वर्षदेखि अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्दै आएका गाउस पहिलो पटक नेपाल आएर खेलेका हुन् । ‘स्पिन धेरै हुने हुनाले नेपालमा खेल्न निकै गाह्रो हुन्छ । पहिलो दुई ओभरमै केही चौका र छक्का प्रहार गरेकाले हामीचाहिँ भाग्यमानी रह्यौं, किनभने त्यसले हामीमाथिको दबाब घटाएको थियो । त्यसपछि लायन्सका खेलाडीले केही गल्ती गरे, त्यसको फाइदा उठायौं,’ गाउसले शतक बनाउनुको रहस्य खुलाए । 
चितवन राइनोजविरुद्धको आफ्नो पहिलो खेलमा १६२ रनको लक्ष्य पाएको पोखराले ७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । त्यस समयमा गाउस यूएईमा मोरिसभिल साम्प आर्मीबाट अबुधाबी टी–१० लिग खेलिरहेका थिए । उनले आफ्नो हुनेवाला टोलीको त्यो दयनीय स्कोर यूएईबाटै हेरिरहेका थिए ।
‘७ रनमा ६ विकेट त बिरलै देख्न पाइन्छ । मैले पनि यस्तो पहिलो पटक नै देखेजस्तो लाग्छ । फ्रेन्चाइज क्रिकेटमा यस्तो हुन्छ । तर, त्यहाँबाट कसरी पुनरागमन गरिन्छ, त्यो महत्त्वपूर्ण हुन्छ । हामीले त्यो स्थितिबाट बलियो रूपमा पुनरागमन गरेका छौं,’ आफ्नो शतक प्रशिक्षक राजीव कुमारप्रति समर्पित गर्दै गाउसले भने ।
आफ्नो बुवाको शुक्रबार बिहान निधन भएपछि प्रशिक्षक राजीव भारत लागिसकेका छन् । सम्भवतः उनी यो प्रतियोगि तामा अब फर्कन भ्याउने छैनन् । जहिले पनि आफ्नो परिवार पहिलो प्राथमिकतामा रहने जनाउँदै गाउसले प्रशिक्षकप्रति हार्दिकता देखाए ।
जनकपुर बोल्ट्सविरुद्धको आफ्नो पहिलो खेलमा गाउसले २० रन बनाएका थिए । टी–१० मा खेलेर आएकाले लक्ष्य बलरमाथि हाबी हुने रहेका कारण पनि लुम्बिनीविरुद्ध राम्रो खेल्न प्रेरित गरेको उनको बुझाइ छ । तर त्योभन्दा पनि उनी ओपनिङ ब्याटिङमा मौका पाएकोमा खुसी छन् ।
त्यसको भरपूर सदुपयोग गरेको गाउस सुनाउँछन् । ओपनिङमा केही चौका र छक्का प्रहार गर्ने अनि पावर प्लेको सदुपयोग गर्ने हो भने टिममाथि दबाब कम हुने उनको बुझाइ छ ।
पोखराले चितवनविरुद्ध कप्तान कुशल भुर्तेलसहित दिनेशलाई ओपनिङ ब्याटिङमा ओरालेको थियो । तर, कुशल उक्त खेलमा पहिलो बलमै आउट भए । गाउस आएपछि उनी दिनेशको ओपनिङ जोडी बनेका हुन् ।
गाउसले अमेरिकाबाट खेलेको पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय दुवै नेपालविरुद्ध छन् । डेढ महिनाअघि नेपालको अमेरिका भ्रमणमा यी खेल भएका थिए । अक्टोबर २९ मा दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले नेपालविरुद्ध ६२ रन बनाएका थिए ।
जुनमा अमेरिकामा भएको ट्वान्टी–२० विश्वकपमा गाउसले क्यानडाविरुद्ध समूह चरणको पहिलो खेलमा ६५ रन बनाएका थिए । विश्वकपमा खेलेको इनिङ्स भएकाले उनी त्यसलाई विशेष मान्छन् । ‘त्यो ठूलो स्टेज थियो र टिमका साथीहरू, परिवारका अगाडि खेलेको थिएँ । त्यो मेरो सम्भवतः उत्कृष्ट इनिङ्स थियो,’ गाउसले एनपीएलको पहिलो शतकबारे भने, ‘यो इनिङ्स पनि विशेष छ, किनभने यो ब्याटिङका लागि सजिलो विकेट थिएन ।’
