गुर्खाजविरुद्ध सुदूरपश्चिम हाबी, जनकपुर अपराजित

युएईबाट काठमाडौं ओर्लिएको २४ घन्टा नबिन्दै नरेन साउदले लिए ५ विकेट, पोखरा एभेन्जर्सको लगातार पराजय

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Sudurpaschim Habi, Janakpur undefeated against Gurkhas

काठमाडौँ — नरेन साउद एसीसी यू–१९ एसिया कप खेलेर यूएईबाट बुधबार रातिमात्र काठमाडौं आइपुगेका थिए । २४ घन्टा नबित्दै उनले चमत्कारी प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

युवा स्पिनर नरेनले कीर्तिपुरस्थित त्रिवि मैदानमा ५ विकेट लिएपछि १ सय ६८ रनको लक्ष्य पाएको गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । ती विकेटका लागि देव्रेहाते स्पिनर उनले ३.५ ओभरमा १९ रन खर्चेका थिए । उनले पछिको ४ विकेट त ३ रन र ११ बलको अन्तरमै लिएका हुन् ।

सुदूरबाट अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ तथा ब्रान्डन म्याकमुलेन र सैफ जायेबले १–१ विकेट लिए । 

अघिल्लो दिन सानदार जित पाएको गुर्खाजबाट स्टेफन इस्किनाजीले ३७ रन बनाए । उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जन १४, भीम सार्की र जेहरार्ड इरसमसले समान १० रन बनाए । माइकल लेभिट ५, शंकर राना ३, रशिद खान २, प्रतीक श्रेष्ठ ८ र कप्तान करण केसी १ रनमा आउट भए । 

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो । मध्यक्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाउँदै टोलीलाई गतिलो स्कोरमा उभ्याएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

स्कटिस खेलाडी म्याकमुलेनको अर्धशतक बनाई आउट भएपछि दीपेन्द्रले आक्रामक इनिङ्स खेलेका थिए । म्याकमुलेनले ३६ बल खेल्दा ३ चौका र ४ छक्कासहित ५३ रन बनाए । ओपनर जैब ९ बलमा १ चौकासहित ११ रनमा आउट भए । अर्का ओपनर विनोद भण्डारीले ३५ रन बनाए । उनले २८ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरे । 

रोहन मुस्ताफा ४ र आरिफ शेख ३ रन बनाई आउट भए । काठमान्डु गुर्खाजबाट रशिदले ४ ओभरमा २० रन खर्चेर २, शाहब आलम, इरसमस र करणले १–१ विकेट लिएका थिए । सुदूरपश्चिमले पहिलो दुई खेल नै जितेको हो । गुर्खाज तीनमध्ये दुई खेलमा पराजित भएको छ । 

दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो विजय हात पारेको छ । जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको थियो । जनकपुरले १ सय ३९ रनको लक्ष्य १७.१ ओभरमा १ सय ४३ रन बनाएर जित हासिल गर्‍यो । 

Sudurpaschim Habi, Janakpur undefeated against Gurkhasकाठमान्डु गुर्खाजका जेहरार्ड इरसमसलाई आउट गरेपछि सुदूरपश्चिम रोयल्सका नरेन साउद । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

अविजित रहेका जिम्मी निसमले २० बलमा ४० र हर्ष ठाकेरले १४ बलमा १३ रन रन बनाई जनकपुरलाई विजय दिलाए । प्लेयर अफ द म्याच निसमले ५ छक्का प्रहार गरे । म्याट क्रिच्लेको एकै ओभरमा ३ छक्कासहित २४ रन प्रहार गरे । उनले नै विजयी छक्का हाने । 

कप्तान अनिल साह १ रनमै आउट भए । आसिफ शेखले ३३ र लाहिरू मालिन्थाले ४५ रन बनाएर बोल्ट्सको विजयको आधार तयार पारेका थिए । आसिफले ३४ बल खेल्दा ३ चौका र मालिन्थाले ३२ बलमा ८ चौका प्रहार गरे । पोखराबाट विपिन खत्री, माइकल लिस्क र कप्तान कुशल भुर्तेलले १–१ विकेट लिएका थिए । 

पहिला ब्याटिङ निम्तो पाएको पोखराले ७ विकेट गुमाई १ सय ३८ रन बनायो । म्याट क्रिच्लेले पोखराबाट सर्वाधिक ३५ रन बनाए । उनले ३० बल खेल्दा ३ चौका र १ छक्का प्रहार गरे । लिस्कले १३ बलमा ३ छक्कासहित २५ रन बनाए ।

उनलाई अन्तिम ओभरमा किशोर महतोले आउट गरेका थिए । किशोरले अन्तिम ओभरमा ३ रनमात्र दिए । ओपनरद्वय दिनेश खरेल १० र एन्ड्रयु गाउसले २० रन बनाए । गाउसले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले फेरि निराश पारे । 

Sudurpaschim Habi, Janakpur undefeated against Gurkhasपोखराविरुद्ध आकर्षक इनिङ्स खेलेका जनकपुरका जिम्मी निसम । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

उनलाई ललित राजवंशीले स्टम्पआउट गरे । दीलिप नाथ ११ र रामोन रिफर १७ रनमा आउट भए । जनकपुरबाट ललितले ४ ओभरमा ३१ रन खर्चेर ३ र निसमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । पोखराको यो लगातार दोस्रो हार हो । 

साउद भन्छन् : ‘प्लेयर अफ द म्याच हुन्छु भन्ने योजना थियो’

हिजो रातिमात्र यूएईबाट आए पनि यो म्याच खेल्छु भन्ने थियो । प्लेयर अफ द म्याच हुन्छु भनेर राति नै मैले त्यहीअनुसार योजना बनाइरहेको थिएँ । पहिला पनि धेरै पटक ५ विकेट लिइसकेको थिएँ, तर ठूलो स्टेजमा भएकाले यो मेरा लागि विशेष रह्यो । 

मैले यति ठूलो लिगमा खेल्न लागेको पहिलो पटक हो । जगत गुरु (प्रशिक्षक जगत टमाटा) र दिपी दाइ (कप्तान दीपेन्द्रसिंह ऐरी) ले बल लाइन र लेन्थमा फाल, खेल तिमीले जिताउँछौं भनेर मलाई उत्प्रेरित गर्नुभएको थियो । मैले पनि त्यहीअनुसार खुलेर खेलिरहेको थिएँ । अझै राम्रो बलिङ गर्ने हो भने माथि जान सक्छु भन्ने लाग्छ । 

यो ५ विकेटको श्रेय म उहाँहरूलाई नै दिन चाहन्छु । दिपी दाइ आफ्नै क्षेत्रको पनि भएकाले सजिलो भयो । पहिलो ओभरमा दुई बाउन्ड्री खाँदा पनि सम्झाइरहनुभएको थियो । इरसमसको विकेट विशेष थियो मेरा लागि । किनेभने विकेट लिनु अगाडि उनले मलाई छक्का प्रहार गरिसकेका थिए । 

यू–१९ एसिया कपमा खासै राम्रो भएको थिएन । तर त्यहाँ पनि लाइनमा बल फालिरहेको थिएँ । यूएई र यहाँको विकेट एकै किसिमको हुने भएकाले पनि राम्रो भयो । यू–१९ को प्रशिक्षक शक्ति गौचन भएकाले पनि मलाई बलरको हिसाबमा धेरै सहयोग मिलेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully